सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा गम्भीर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
उपचाररत रवीन्द्र मेहताको मंगलबार बिहान काठमाडौंस्थित महाराजगञ्जमा रहेको शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा निधन भएको हो । वीरेन्द्र केएमका अनुसार रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएको हो। यसअघि सोही घटनामा घाइते भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको पनि मृत्यु भइसकेको थियो। रवीन्द्रको निधनसँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।
गत आइतबार राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो । घटनामा देवानगञ्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। त्यस्तै, गम्भीर घाइते देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।