सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भई उपचाररत रवीन्द्र मेहताको निधन भएपछि गृहमन्त्री सुधन गुरुङ र मृतकका परिवारबीच वार्ता सुरु भएको छ ।
वार्ता काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा भइरहेको छ । साउन १० गते राति सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मंगलबार निधन भएको हो।
यसअघि गृहमन्त्री गुरुङले मंगलबार नै हिन्दु तथा मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता तथा छलफल गरेका थिए । गृहमन्त्रालयमा भएको छलफलमा दुवै समुदायका विभिन्न नेताहरूको सहभागिता रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार भेटवार्तामा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, उत्पन्न विवाद, शान्ति–सुरक्षा तथा आपसी सामाजिक सद्भाव कायम गर्ने विषयमा छलफल भएको थियो ।