अमेरिकाको डालसमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनको लक्ष्य प्रस्तुत गरेको थियो, जसलाई नेपालले २९.५ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका बलरहरूमध्ये सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने करन केसी, सोमपाल कामी, र गुल्सन झाले २/२ विकेट लिए । आरिफ शेखले १ विकेट लिए । करनले पहिलो ओभरमै स्कटल्याण्डका ओपनर चार्ली टिअरलाई बोल्ड आउट गरेका थिए । स्कटल्याण्डका लागि मार्क वाटले ३४ रन बनाए, तर अन्य ब्याटरले २० रन कटाउन सकेनन् ।
नेपालको जवाफी ब्याटिङमा आरिफ शेखले सर्वाधिक ५१ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे । कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन बनाए भने आसिफ शेखले २१ र अनिल शाहले १३ रनको योगदान दिए । स्कटल्याण्डका बलर ब्राण्डम म्याकुलमले २ विकेट लिए भने ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले १/१ विकेट लिए ।
लिग-२ को यस शृङ्खलामा पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । लिग तालिकामा नेपाल १० खेलमा २ जितसहित पाँच अंकका साथ सातौं स्थानमा छ । नेपालले आगामी शनिबार अमेरिका र सोमबार पुनः स्कटल्याण्डसँग खेल्ने कार्यक्रम छ ।