लगातारको वर्षापछि रौतहटको राजपुर नगरपालिका क्षेत्रमा बगेको लालबकैया खोलामा पानीको बहाव बढ्दा हुलाकी राजमार्ग डुबानमा परेको छ ।
सडकमाथिबाट बाढीको पानी बग्न थालेपछि स्थानीय बासिन्दा, यात्रु तथा सवारी चालकहरू ज्यानको जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन् । राजपुर नगरपालिका–२ फतुवा महेशपुरदेखि राजपुरतर्फ जाने हुलाकी सडकखण्डअन्तर्गत लालबकैया नदीको पश्चिम लच्कामा बाढीको पानी सडकमाथिबाट ओभरफ्लो भएर बगेपछि यातायात प्रभावित भएको हो । वैकल्पिक मार्गको अभावका कारण स्थानीयवासी जोखिमपूर्ण अवस्थामै उक्त सडक प्रयोग गर्न बाध्य छन् ।
हुलाकी राजमार्गको यो खण्ड दैनिक सयौं सवारीसाधन र यात्रुले प्रयोग गर्ने महत्त्वपूर्ण सडक हो । तर वर्षायाममा हरेक वर्ष लालबकैया खोलाको बाढीका कारण सडक डुबानमा पर्दा आवतजावत जोखिमपूर्ण बन्दै आएको स्थानीयवासीको गुनासो छ । बाढीको बहाव बढेसँगै दुर्घटनाको जोखिम पनि बढेको छ। डुबान प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहट तथा नेपाल प्रहरीको टोली परिचालन गरी सुरक्षा व्यवस्था कडा पार्नुका साथै यात्रुको सुरक्षित आवतजावतमा सहजीकरण भइरहेको सशस्त्र प्रहरी नम्बर ११ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) रामहरि अधिकारीले जानकारी दिए ।


उनका अनुसार सशस्त्र प्रहरीको टोली घटनास्थलमा निरन्तर निगरानीमा रहेको छ । बाढीको बहाव अझ बढेमा जोखिमलाई मध्यनजर गर्दै उक्त सडकखण्डमा आवतजावत पूर्ण रूपमा रोक्ने तयारीसमेत गरिएको छ । सशस्त्र प्रहरीले सर्वसाधारणलाई डुबान भएको सडक जोखिम मोलेर पार नगर्न तथा सम्भव भएसम्म सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । निरन्तर वर्षा भइरहेकाले लालबकैया खोलाको जलस्तर अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै स्थानीय प्रशासनले नदी आसपासका बासिन्दा तथा यात्रुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
स्थानीयवासीले भने हरेक वर्ष दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि हुलाकी राजमार्गको सतह उचाल्ने, प्रभावकारी पानी निकासको व्यवस्था गर्ने तथा बाढी प्रभावित क्षेत्रमा स्थायी संरचना निर्माण गर्न सरकारसँग माग गरेका छन् ।