फेसबुकमार्फत बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री प्रसारण गरेको आरोपमा एक नेपाली नागरिकलाई भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ प्रहरीले पक्राउ गरेको छ ।
पिथौरागढ प्रहरीले साइबर अपराधविरुद्ध सञ्चालन गरेको अभियानअन्तर्गत दार्चुला जिल्लाको महाकाली नगरपालिका–९ उडइका ३२ वर्षीय वीर भान राम लावडलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको जनाएको छ । अदालतले उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । भारतीय प्रहरीले उनका विरुद्ध सूचना प्रविधि ऐन, २००० को धारा ६७(बी) अन्तर्गत मुद्दा दर्ता गरेको जनाएको छ ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा फेसबुकमार्फत बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री विभिन्न व्यक्तिलाई पठाइएको तथा प्रसारण गरिएको खुलेको थियो ।
प्राविधिक विश्लेषणका क्रममा उक्त सामग्री प्रसारण गर्न प्रयोग भएको मोबाइल सिम बलुवाकोटकी एक महिलाको नाममा दर्ता रहेको पाइए पनि प्रयोग भने उनका भाइ वीर भान राम लावडले गरिरहेको पुष्टि भएको भारतीय प्रहरीले जनाएको छ । आवश्यक प्रमाण संकलनपछि पिथौरागढ प्रहरीको टोलीले गत साउन १९ गते (अगस्ट ४) उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका लावडलाई अदालतमा पेस गरिएपछि अदालतले थप अनुसन्धानका लागि १४ दिनको न्यायिक हिरासतमा पठाएको पिथौरागढ प्रहरीले जनाएको छ ।