भारतको बिहारस्थित मोतीहारी जिल्लामा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन् ।
रामगढवा थाना क्षेत्रको नारीरगिर चोकमा सवारीसाधन जाँचका क्रममा भारतीय प्रहरीले उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । भारतीय प्रहरीका अनुसार बिहीबार नियमित सवारी जाँचका क्रममा एचएचडी मेसिन प्रयोग गरी मोटरसाइकलको विवरण परीक्षण गर्दा चेचिस नम्बर र रजिस्ट्रेसन नम्बरबीच भिन्नता भेटिएको थियो । त्यसपछि मोटरसाइकलको थप विवरण जाँच तथा सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको रहेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बाराको कलैया नगर क्षेत्रअन्तर्गत बैराठापुरका हरिनारायण सिंहका छोरा आदित्य सिंह र पर्साको वीरगंज बहुअरीका रमेश गिरीका छोरा शिवानन्द गिरी रहेका छन् ।
भारतीय प्रहरीका अनुसार पक्राउ परेका दुवै युवक नेपालका फरक–फरक जिल्लाका हुन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ भने चोरीको मोटरसाइकलसम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।