अनाधिकृत रुपमा भण्डारण गरिएको १०२ बोरा लसुन पर्सा प्रहरीले बरामद गरेकाे छ ।
विन्दवासिनी गाउँपालिका वडा नं. ३, झौवा स्थित कुखुराको फार्ममा भन्सार छली चोरी निकासी गर्नका लागि भण्डारण गरिएको १०२ बोरा लसुन प्रहरीले बरामद गरेको हाे । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले अनाधिकृत रुपमा भण्डारण गरिएको उक्त लसुन बरामद गरेको हो ।
नामथर नखुलेका व्यक्तिले कुखुरा फार्ममा भण्डारण गरेको उक्त लसुनको तौल करिब १७ क्विन्टल ८० किलोग्राम रहेको छ । लसुनको बजार मूल्य चार लाख असी हजार छ सय रुपैयाँ रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार लसुन लुकाईछिपाई भारत चोरी निकासी गर्ने योजना रहेको अधारमा बरामद गरेको हो ।
बरामद लसुनलाई कानूनी प्रक्रिया पुर्याई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।