काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका चार जना प्रदेश सांसदलाई पार्टीबाट निष्काशन गरेपछि पार्टी अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशमा आफ्नो सक्रियता बढाउने भएका छन् ।
पार्टीको निर्देशन अवज्ञा गर्दै एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई विश्वासको मत दिएको र त्यसपछि सरकारमा समेत सहभागी भएको आरोपमा जसपा नेपालले चार जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो ।
जसपा नेपालले सरकार गठनका क्रममा लुम्बिनी प्रदेश सरकारको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको थियो । तर, पार्टीको निर्णयविपरीत सरकारलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएपछि सांसदहरूमाथि कारबाही गरिएको पार्टीले जनाएको छ ।
बिहीबार सम्पन्न तीनदिने केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशका सांसद सन्तोषकुमार पाण्डे, हेमा बेल्वासे, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको हो। निष्काशनमा परेका चारमध्ये तीन जना प्रत्यक्ष निर्वाचित र एक जना समानुपातिक सांसद रहेका छन् ।
चार सांसदलाई कारबाही गरेपछि लुम्बिनी प्रदेशमा पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउन अध्यक्ष यादव स्वयं प्रदेश केन्द्रित हुन लागेका हुन् ।
जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार अध्यक्ष यादवको नेतृत्वमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीनदिने कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ ।
कार्यक्रमअनुसार भदौ २१ गते पश्चिम नवलपरासी, २२ गते रुपन्देही तथा २३ गते कपिलवस्तु र दाङमा जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।
सांसदहरूमाथिको कारबाही र लुम्बिनी प्रदेशका केही शीर्ष नेताहरूमा देखिएको असन्तुष्टिका बीच अध्यक्ष यादवको लुम्बिनी केन्द्रित कार्यक्रमलाई पार्टी संगठन सुदृढीकरणका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।
पार्टीले प्रदेशमा संगठनलाई थप सक्रिय र एकताबद्ध बनाउन कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।