मधेश प्रदेशमा बालिका बलात्कार तथा यौनजन्य हिंसाका घटना भयावह रूपमा बढिरहेको तथ्यांकले देखाएको छ ।
बारा जिल्लाको जीतपुरसिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको घटना सेलाउन नपाउँदै सप्तरीमा आइतबार तीन वर्षीया बालिका मृत फेला परेको घटनाले बालिकाको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तकको तथ्यांकअनुसार सन् २०२३ देखि २०२५ सम्म मधेश प्रदेशमा ६३० वटा बलात्कारका घटना अभिलेख भएका छन्। तीमध्ये ३३१ जना बालिका र २९९ जना महिला पीडित रहेको तथ्यांकले देखाएको छ।
तथ्यांकअनुसार बालिकामाथि बलात्कारका घटना सन् २०२३ मा १००, सन् २०२४ मा १३० र सन् २०२५ मा १०१ वटा भएका छन्। महिलातर्फ भने सन् २०२३ मा ७९, सन् २०२४ मा ९७ र सन् २०२५ मा १२३ वटा घटना अभिलेख भएका छन्।
सर्लाहीमा सबैभन्दा बढी बालिका पीडित
तीन वर्षको तथ्यांकलाई हेर्दा मधेश प्रदेशका जिल्लामध्ये सर्लाहीमा बालिका बलात्कारका घटना सबैभन्दा बढी देखिएका छन्। सर्लाहीमा ६७ वटा घटना अभिलेख भएका छन्।
त्यस्तै सप्तरीमा ५५, सिरहामा ५३, धनुषामा २७, महोत्तरीमा २६, रौतहटमा २८, बारामा ३५ र पर्सामा ४० वटा बालिका बलात्कारका घटना भएका छन्।
महिलातर्फ भने धनुषामा सबैभन्दा बढी ९७ वटा बलात्कारका घटना अभिलेख भएका छन्। सप्तरीमा २९, सिरहामा ४३, महोत्तरीमा २५, सर्लाहीमा २४, रौतहटमा ३२, बारामा २२ र पर्सामा २७ वटा घटना भएको इन्सेकको तथ्यांकमा उल्लेख छ।
किशोरीदेखि १० वर्षमुनिका बालिका बढी जोखिममा
बलात्कारका घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार तथ्यांकगत रूपमा हेर्दा १२–१३ वर्ष उमेर समूहका किशोरीदेखि १० वर्षमुनिका बालिका बढी जोखिममा देखिएका छन्। सामाजिक सञ्जालको दुरुपयोग, बालबालिकाको अपर्याप्त निगरानी, लागूऔषधको प्रयोग, अपरिचित व्यक्तिसँगको सम्पर्क तथा यौनजन्य सामग्रीको सहज पहुँचलाई जोखिमका प्रमुख कारणका रूपमा औँल्याइएको छ।
सरोकारवालाहरूले सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगसँगै बालबालिकालाई यौन शिक्षा, ‘गुड टच’ र ‘ब्याड टच’ तथा उमेर नपुगी हुने शारीरिक सम्पर्कका असरबारे पर्याप्त जानकारी नदिँदा पनि समस्या बढिरहेको बताएका छन्।
मानवअधिकारकर्मी एवं अधिवक्ता रेखा झाका अनुसार सामाजिक सञ्जालमा बढ्दो कामुक तथा उत्तेजक सामग्रीको नियन्त्रण आवश्यक छ। उनका अनुसार सामाजिक सञ्जालको दुरुपयोग, नैतिक शिक्षाको कमी र अभिभावकत्व कमजोर बन्दै जानुले बालबालिका जोखिममा परिरहेका छन्।
“सामाजिक सञ्जाल अहिले निकै छाडा भइसकेको छ। पैसा कमाउने होडमा विभिन्न प्लेटफर्ममा राखिएका कामुक र उत्तेजक दृश्यमा नियन्त्रण आवश्यक छ,” झा भन्छिन्, “यसले बालबालिकामा नकारात्मक प्रभाव पारेर बलात्कारजस्ता घटनाको अवस्था निम्त्याउन सक्छ।”
उनले बालबालिकालाई परिवार, समाज र नैतिकताबारे शिक्षा दिनुका साथै ‘गुड टच’ र ‘ब्याड टच’बारे जानकारी गराउन आवश्यक रहेको बताइन्। उमेर नपुगी हुने शारीरिक सम्पर्कले पार्ने असरबारे पनि बालबालिकालाई सचेत बनाउनुपर्ने उनको भनाइ छ।
“सबैभन्दा महत्वपूर्ण कुरा अभिभावकमा अभिभावकत्व हराउँदै गएको छ। बालबालिकाको गतिविधि, साथीभाइ र सामाजिक सञ्जालको प्रयोगबारे अभिभावक सचेत हुन आवश्यक छ,” उनले भनिन्।
सामाजिक प्रतिष्ठाका कारण घटना लुकाउने प्रवृत्ति
इन्सेकका मधेश प्रदेश प्रतिनिधि एवं मानवअधिकारकर्मी राजु पासवानले सामाजिक सञ्जालको दुरुपयोग, विभिन्न प्रलोभन, बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको प्रभावकारी कार्यान्वयनको कमी तथा सामाजिक प्रतिष्ठाका कारण पनि बालिका बलात्कारका घटना बढिरहेको बताए।
उनका अनुसार कतिपय घटना प्रहरी तथा सम्बन्धित निकायसम्म नपुग्ने भएकाले अभिलेखमा देखिएको तथ्यांकभन्दा वास्तविक अवस्था अझ गम्भीर हुन सक्ने सम्भावना छ।
बालिकामाथि हुने यौन हिंसा नियन्त्रणका लागि कानुनी कारबाहीसँगै परिवार, विद्यालय, समुदाय र राज्यका निकायले रोकथाममा केन्द्रित भएर काम गर्नुपर्ने सरोकारवालाहरूको भनाइ छ।
बालिका बलात्कारका घटना लगातार सार्वजनिक भइरहेका बेला दोषीलाई कानुनी दायरामा ल्याउने मात्र नभई घटना हुन नदिन पूर्वरोकथाम, बालमैत्री सुरक्षा संयन्त्र, डिजिटल साक्षरता, प्रभावकारी अभिभावकत्व र विद्यालयस्तरमै यौन तथा सुरक्षा शिक्षा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ।