विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी’ओरको मनोनयन सूची मंगलबार सार्वजनिक हुँदैछ । यसपटकको दौडमा इङ्ल्यान्डका कप्तान ह्यारी केन मुख्य दाबेदारका रूपमा देखिएका छन् । क्लब र देशका लागि गरेको गोल वर्षाका कारण धेरैले उनलाई विजेताका रूपमा हेरिरहेका छन् ।
तर, इतिहास साक्षी छ, विश्व फुटबलको यो सर्वोच्च अवार्ड केवल गोल संख्याका आधारमा मात्र सहजै कसैको पोल्टामा पर्दैन ।
सन् १९५६ मा पहिलो पटक प्रदान गरिएको बालोन डी’ओरको इतिहास हेर्ने हो भने, ठूला प्रतियोगितामा गरेको प्रदर्शनले नै यसको विजेता तय गर्दै आएको देखिन्छ । विश्वकप आयोजना भएका वर्षहरूमा त यो ट्रेन्ड झनै स्पष्ट छ ।
सर स्ट्यान्ली म्याथ्युजदेखि लिएर हालसम्मका विजेतालाई हेर्दा प्रमुख वैश्विक वा महादेशीय प्रतियोगिता जित्नु बालोन डी’ओर हात पार्नका लागि ‘अघोषित सर्त’जस्तै बन्दै आएको छ ।
सन् १९६६ मा बबी चार्लटन, सन् १९८२ मा पाओलो रोसी, सन् १९९० मा लोथार म्याथ्युज, सन् १९९८ मा जिनेदिन जिदान, सन् २००२ मा रोनाल्डो र सन् २००६ मा फाबियो कानाभारोले विश्वकप जितेलगत्तै बालोन डी’ओर उचालेका थिए ।
यहाँसम्म कि, सन् २०१६ मा ‘फ्रान्स फुटबल’ले गरेको पूर्ववत् समीक्षामा पनि पेले, गारिन्चा र म्याराडोनाजस्ता दिग्गजहरूलाई विश्वकप जितेकै कारण अवार्डको वास्तविक हकदार मानिएको थियो ।
केही अपवादहरू पनि छन् । लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले प्रमुख उपाधि नजितेको वर्ष पनि व्यक्तिगत प्रदर्शनका आधारमा यो अवार्ड पाएका थिए ।
तर, यसले उनीहरूको असाधारण क्षमतालाई मात्र पुष्टि गर्छ । उता, ह्यारी केनको सन् २०२५–२६ को सिजन भने साँच्चै लोभलाग्दो छ ।
उनले जर्मन क्लब बायर्न म्युनिख र इङ्ल्यान्डका लागि कुल ७३ गोल गरेका छन् । यो अवधिमा उनले बायर्न म्युनिखका लागि ६१ र इङ्यान्डका लागि १२ गोल गरेका छन् ।
यो तथ्याङ्क गर्ड मुलर, क्रिस्टियानो रोनाल्डो र एर्लिङ हालान्डजस्ता खेलाडीहरूको उत्कृष्ट सिजनभन्दा पनि बढी हो ।
तर, केनका लागि चुनौती पनि उत्तिकै छ । उनीसँग यो वर्ष च्याम्पियन्स लिगको उपाधि छैन । उनको क्लब बायर्न सेमिफाइनलबाटै बाहिरिएको थियो । अर्कोतिर, उनका प्रतिद्वन्द्वीहरूले भने ठूला उपाधि पनि जितेका छन् ।
केनका सबैभन्दा बलिया प्रतिद्वन्द्वीको रूपमा स्पेनका रोड्री देखिएका छन् । विश्वकप विजेता स्पेनको मुख्य भूमिकामा रहेका रोड्रीले ‘गोल्डेन बल’समेत हात पारेका थिए ।
यसैगरी, विश्वकप विजेता टोलीका सदस्य लामिन यामलसँगै १० गोलसहित विश्वकपको सर्वाधिक गोलकर्ता बनेका किलियन एमबाप्पे र ३९ वर्षको उमेरमा पनि सानदार प्रदर्शन गरेका लियोनल मेसी पनि यो दौडमा छन् ।
समग्रमा, इतिहासका पाना पल्टाउँदा ह्यारी केनका लागि बाटो सहज छैन । तर, आधुनिक फुटबलकै सबैभन्दा लोभलाग्दो तथ्याङ्क लिएर उभिएका केनलाई मत दिने पत्रकारहरूको जूरीले कसरी मूल्याङ्कन गर्छ, त्यो भने हेर्न बाँकी नै छ ।
के केन बालोन डी’ओरको ऐतिहासिक परम्परालाई तोड्दै पाँचौँ इङ्लिस विजेता बन्न सक्लान् रु वा मतदाताहरूले फेरि पनि ‘ठूला उपाधि’लाई नै प्राथमिकता देलान् ? यो प्रश्नको उत्तर छिट्टै सार्वजनिक हुनेछ ।