रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा मानवीय क्षति व्यहोरेका परिवारलाई सहयोग गर्न पर्साको बहुदरमाई नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले २५ लाखभन्दा बढी रुपैयाँ उपलब्ध गराउने भएका छन्।
बहुदरमाई नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ।
नगर कार्यपालिकाको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगरपालिकाका तर्फबाट ५ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ। त्यस्तै नगरका जनप्रतिनिधिहरूको पारिश्रमिकबाट १ लाख ७२ हजार रुपैयाँ र नगरपालिकाका सम्पूर्ण कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीलगायतको पारिश्रमिकबाट १७ लाख ६४ हजार ९ सय रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
यसरी नगरपालिकाको कार्यालय, जनप्रतिनिधि र कर्मचारीको योगदान गरी कुल २५ लाख ११ हजार ९ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइने भएको छ।
बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंगासन सा तेलीद्वारा जारी विज्ञप्तिमा विपद्को समयमा पीडित तथा प्रभावित नागरिकप्रति स्थानीय सरकारको साथ र ऐक्यबद्धता रहेको जनाइएको छ।
नगरपालिकाले बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षलाई सहयोग गर्नसमेत आग्रह गरेको छ।