वीरगंज । पर्सा प्रहरीले ७ ग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागूऔषध ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले मंगलबार दिउँसो वीरगंज महानगरपालिका–२१ स्थित परवानीपुर चोकको सडकखण्डमा चेकजाँच गरेको थियो।
जितपुरबाट वीरगंजतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट डिएल १२ सिएल १९८४ को कारलाई रोकी प्रहरीले खानतलासी गर्दा चालक बस्ने सिटको माथिल्लो भागमा लुकाइछिपाइ राखिएको प्लास्टिकभित्र ७ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ।
प्रहरीले उक्त कारसहित भारत, बिहारको पूर्वी चम्पारण जिल्लास्थित रक्सौल, पुरैनिया लोहडिया–५ का ३१ वर्षीय दिनेश प्रसादलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका व्यक्ति र बरामद लागूऔषधका विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।