बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगन्ज स्थित वडा कार्यालय नजिकै पूर्व–पश्चिम राजमार्गबाट ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार वीरगंजबाट चितवनतर्फ जाँदै गरेको ना।५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकी जाँच गर्ने क्रममा दुईवटा झोला फेला परेको थियो।
बसको हुड र्याकमा रहेका ती झोलाको जाँच गर्दा लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइडका १८ हजार ३ सय थान क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ। लागूऔषधसहित पर्साको वीरगंज महानगरपालिका–१६ निवासी अन्दाजी १९ वर्षीय आनन्द चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका चौरसियामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।