२०८३ भदौ १० गते तिब्बतको ल्हेन्दे खोलाबाट अचानक आएको विनाशकारी बाढीले नेपाल प्रवेश गरेपछि आफ्नो बहाव क्षेत्रमा पर्ने गाउँ, बस्ती र संरचनाहरू बगाउँदै अघि बढ्यो। तीव्र गतिमा आएको बाढीको सबैभन्दा ठूलो प्रभाव रसुवा र नुवाकोटमा देखियो।
स्थानीयका अनुसार रसुवागढीदेखि नुवाकोटको देवीघाट बजारसम्मको करिब ८० किलोमिटर दूरी बाढीले झण्डै २५ मिनेटमै पार गरेको थियो। छोटो समयमै आएको बाढीका कारण मानिसहरूलाई सुरक्षित स्थानमा जानसमेत पर्याप्त समय मिलेन।
सरकारी तथ्याङ्कअनुसार बाढी तथा त्यसपछिको विपद्मा हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ भने ५ हजार ३२६ जना अझै बेपत्ता छन्। १३ हजार ५८३ जनाको उद्धार गरिएको छ। त्यस्तै, ३ हजार २४० जना १७ वटा होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका छन्। बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासी प्रभावित भएका छन्। चितवन र नवलपरासीबाहेक पाँच जिल्लाका १५ पालिका र ४९ वडा प्रत्यक्ष प्रभावित भएको सरकारी विवरणमा उल्लेख छ।
नेपाल सरकारका अनुसार बाढीबाट ७ हजार ५७० घरमा क्षति पुगेको छ। प्रभावित जनसङ्ख्या ३२ हजारभन्दा बढी रहेको अनुमान गरिएको छ। तर संयुक्त राष्ट्र विकास कार्यक्रम ९यूएनडीपी० को तथ्याङ्कले बाढीबाट प्रभावितको सङ्ख्या ८४ हजार २७० रहेको जनाएको छ।
त्रिशूली–देवीघाट क्षेत्रमा आइपुग्दा नदीको बहाव केही फराकिलो भूगोलमा फैलिएकाले प्रारम्भिक क्षेत्रको तुलनामा बाढीको तीव्रता केही कम भएको थियो। तर त्यस बेलासम्म रसुवा र नुवाकोटमा ठूलो क्षति भइसकेको थियो।सूचना तथा सञ्चारको सीमित पहुँच, भौगोलिक कठिनाइ र बाढीको अस्वाभाविक तीव्रताका कारण प्रभावित क्षेत्रमा समयमै चेतावनी पुर्याउन नसक्दा मानवीय क्षति थप बढेको देखिन्छ। बाढी रसुवा र नुवाकोटबाट धादिङ, गोरखा, तनहुँ हुँदै चितवन र नवलपरासीसम्म पुगेको थियो। तर तल्लो तटीय क्षेत्रमा आइपुग्दा बाढीको रौद्र रूप तुलनात्मक रूपमा मत्थर भइसकेको थियो ।
प्रारम्भिक अनुमानअनुसार बाढी करिब १८८ किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढेको थियो। यसले रसुवादेखि गण्डक ब्यारेजसम्मको करिब २४० किलोमिटर दूरी १० घण्टाभन्दा केही बढी समयमै पार गरेको बताइएको छ।बाढीको बहाव व्यवस्थापन गर्न त्यस दिन गण्डक ब्यारेजका सबै ३२ वटा ढोका खोल्नुपरेको थियो।
बाढीमा बेपत्ता भएकाहरूको वास्तविक सङ्ख्या अझै यकिन हुन सकेको छैन। स्थानीय तहहरूले आफ्ना नागरिकको अवस्था पहिचान गर्दै तथ्याङ्क अद्यावधिक गरिरहेका छन्। बाढी प्रभावित क्षेत्रमा तीर्थयात्री, औपचारिक रोजगारीमा रहेका व्यक्ति, व्यवसायी, श्रमिक तथा विभिन्न पेशामा संलग्न मानिसहरू थिए। उनीहरूमध्ये कतिपयको विवरण सरकारी अभिलेखमा समेत नरहेको हुन सक्ने भएकाले बेपत्ताको वास्तविक सङ्ख्या पहिचान गर्न चुनौती देखिएको छ।
विशेषगरी अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक, साना व्यवसायी र दैनिक ज्यालादारीमा निर्भर मानिसहरूको विवरण संकलन गर्न कठिन भइरहेको छ। प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा भारतीय नागरिकसमेत आवतजावत तथा रोजगारीमा रहने भएकाले उनीहरूको अवस्थाबारे यकिन तथ्याङ्क निकाल्नु अर्को चुनौती बनेको छ।
भोटेकोशीमा आएको यो बाढी सामान्य प्राकृतिक विपत्ति मात्र नभई ठूलो मानवीय संकटका रूपमा देखिएको छ। केही मिनेटको अन्तरालमा बस्ती र संरचना तहसनहस बनाएको यस विपत्तिले नेपालमा पूर्वसूचना प्रणाली, नदी तटीय बस्तीको सुरक्षा र विपद् व्यवस्थापनको तयारीमाथि समेत गम्भीर प्रश्न उठाएको छ।