राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले प्रतिनिधिसभाको बैठकमा बोल्दै सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी महिलालाई आर्थिक अभावका कारण भर्ना नगरिएको दाबी गरेका हुन्। सांसद कर्णका अनुसार ती महिलासँग उपचारका लागि २ हजार ५ सय रुपैयाँ मात्रै थियो। अस्पतालले भर्नाका लागि आवश्यक रकम नपुगेको भन्दै उनलाई भर्ना नगरेपछि अस्पतालबाहिरै सडक पेटीमा बच्चा जन्माउनुपरेको उनले संसदमा बताएका छन् ।
सुत्केरी अवस्थामा अस्पताल पुगेकी महिलालाई तत्काल उपचार र सुरक्षित प्रसूति सेवा उपलब्ध हुनुपर्नेमा रकम अभावकै कारण भर्ना नलिएको घटना गम्भीर भएको सांसद कर्णले बताएका छन्। उनले घटनाले सरकारी अस्पतालमा उपलब्ध सार्वजनिक स्वास्थ्य सेवा, प्रसूति व्यवस्थापन र आर्थिक रूपमा कमजोर नागरिकको उपचार पहुँचमाथि गम्भीर प्रश्न खडा गरेको भन्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
सांसद कर्णले घटनाको वास्तविकता छानबिन गरी आर्थिक अभावका कारण कुनै पनि गर्भवती महिलाले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न मागसमेत गरेका छन्।