रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारमा परिचालन गरिएको तालिमप्राप्त ल्याब्राडोर कुकुर ‘साम्बा’ले १५ दिनको अवधिमा २० वटा शव तथा शवका अवशेष फेला पारेको छ।
विशेष तालिमप्राप्त ‘साम्बा’सहितको सुरक्षा टोलीले बाढी प्रभावित विभिन्न क्षेत्रमा निरन्तर खोजी अभियान सञ्चालन गर्दै २० जनाको शव तथा अवशेष पत्ता लगाएको उद्धारमा खटिएका सशस्त्र प्रहरी बल नेपालका हवल्दार सिताराम कोइरालाले जानकारी दिनुभयो । बाढीपछि प्रहरी तथा अन्य सुरक्षा निकायको संयुक्त उद्धार टोलीले साम्बालाई रसुवागढी, स्याफ्रुबेँसी, टिमुरे, घट्टेखोला र बेत्रावतीलगायतका अति प्रभावित क्षेत्रमा परिचालन गरेको थियो।
कठिन भौगोलिक अवस्था, भग्नावशेष तथा बाढीले थुपारेको माटो बीच पनि साम्बाले आफ्नो तीव्र सुँघ्ने क्षमताको प्रयोग गर्दै शव तथा अवशेष पत्ता लगाउन सहयोग गरेको सुरक्षाकर्मीहरूले बताएका छन्। उद्धार टोलीका अनुसार विपद्पछिको खोजी कार्यमा तालिमप्राप्त कुकुरको भूमिका महत्वपूर्ण देखिएको छ। साम्बाले लगातार १५ दिनसम्म खोजी अभियानमा सक्रिय भएर बेपत्ता व्यक्तिको खोजीमा सुरक्षा टोलीलाई महत्वपूर्ण सहयोग पुर्याएको छ।