सर्लाहीको लालबन्दीस्थित नगर अस्पतालमा “कल्चर परीक्षण सेवा” सुरु गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा कल्चर परीक्षण सेवा भन्नाले बिरामीको शरीरमा कुन ब्याक्टेरिया, फङ्गस वा भाइरसको सङ्क्रमण भएको छ र त्यसका लागि कुन एन्टिबायोटिकले ठीक गर्छ भनी पत्ता लगाउन गरिने ल्याब परीक्षण हो । नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार अस्पतालमा रगत ९ब्लड० र पिसाब (युरिन) मार्फत कल्चर टेष्ट गरिने छ ।
यो सेवा लिन सर्लाहीका स्थानीय वीरगंज वा जनकपुर धाउन बाध्य थिए । नगर अस्पताल लालबन्दीले आफूसँग उपलब्ध भएका र थप एक जना प्रयोगशालाका कर्मचारीसमेत नियुक्त गरेर कल्चर परीक्षण सेवा सुरु गरेको हो ।
उक्त सेवाको बिहीबार नगरप्रमुख वासुदेव अधिकारीले उद्घाटन गरेका छन् । नगरप्रमुख अधिकारीले लालबन्दी नगरवासी र यस भेगका स्थानीयलाई सुलभदरमा विश्वसनीय विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराउन नगरपालिकाले निरन्तर लगानी बढाउँदै लगेको उल्लेख गरे ।
विशेषज्ञ चिकित्सकहरुले भरपर्दो स्वास्थ्य सेवा प्रदान गरिरहेकाले नगर अस्पताल लालबन्दीप्रति पछिल्लो समय स्थानीय बासिन्दाको भरोसा बढ्दै गइरहेको छ । अस्पतालमा दैनिक तीन सय जनासम्म बिरामी उपचारका लागि आउने गरेका अस्पतालका सूचना अधिकारी हिमान्सु कर्णले बताए।
नयाँ–नयाँ स्वास्थ्य सेवा थप गर्दै लगेको नगर अस्पताल लालबन्दीले कल्चर परीक्षण सेवा अन्तर्गत रगतमार्फत गरिने परीक्षणका लागि ३५० रुपियाँ र पिसाबमार्फत गरिने परीक्षणका लागि १५० रुपियाँ शुल्क तोकेको छ । गाडी भाडा, हैरानी र महँगो शुल्क तिरेर वीरगन्ज वा जनकपुर गएर कल्चर परीक्षण गर्ने बिरामीका लागि नगर अस्पतालमै उपलब्ध सेवाले ठूलो राहत मिल्ने अपेक्षा गरिएको अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् ।