भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोका कारण तराई–मधेसको पर्यटकीय व्यापार एक सातायता कमजोर बन्दै गएको छ । काठमाडौं–हेटौँडा जोड्ने सडकमार्गहरू अस्तव्यस्त बनेपछि मधेस हुँदै काठमाडौं वा पोखरातर्फ जाने–आउने भारतीय पर्यटकको संख्या ठप्पजस्तै बनेको छ । त्यसको प्रत्यक्ष असर मधेस प्रदेशको पर्यटकीय व्यापारमा परेको हो ।
होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमले दस दिनअघिको प्राकृतिक विपत्तिका कारण काठमाडौं र पोखरातर्फ जाने–आउने भारतीय पर्यटक मधेसमा भित्रिन छाडेपछि होटल तथा आतिथ्य क्षेत्रको व्यापारमा धक्का पुगेको बताए । ‘काठमाडौं र अन्य क्षेत्रबाट भारत फर्कंदा भारतीय पर्यटक जनकपुरधाम आउनेदेखि बर्दिबास, सिमरा र वीरगन्जका तारे होटलमा हुने नाइट स्टपसमेत हुन छाडेको छ,’ गौतमले भने, “होटल बुकिङ ठूलो मात्रामा रद्द भएका छन् । मधेसका होटलको अकुपेन्सी ८० प्रतिशतभन्दा बढीले घटेको छ ।”
मधेसका जनकपुर, वीरगंज, सिमरा, बर्दिबासलगायत सहरमा नजिकैका सीमावर्ती क्षेत्रबाट भारतीय पर्यटकको मुख्य आवागमन हुने गर्छ । यसरी नेपाल प्रवेश गर्ने भारतीय पर्यटकमध्ये अधिकांश पोखरा र काठमाडौं जाने गर्छन् । उनीहरूको आगमन शून्यजस्तै बनेपछि महेन्द्र राजमार्गमा भारतीय निजी सवारीसाधनको आवागमन घटेको छ । यससँगै राजमार्ग केन्द्रित पर्यटकीय होटल तथा रेस्टुरेन्टको व्यापारसमेत प्रभावित भएको महासंघले जनाएको छ ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) मधेस प्रदेशका अध्यक्ष मोहन शर्माले सेप्टेम्बरदेखि नोभेम्बरसम्मको समय नेपालमा पर्यटनको मुख्य सिजन भए पनि प्राकृतिक विपत्तिका कारण मधेसका टुर प्याकेज बिक्री हुन छाडेपछि पर्यटकीय मौसममा अनिश्चितता थपिएको बताए । काठमाडौं जाने बाटो बन्द भएपछि बिहार र उत्तर प्रदेशबाट काठमाडौं वा पोखरातर्फ जाने कतिपय भारतीय पर्यटक बाटोमै रोकिएको उनले बताए ।
त्यसको असर मधेसका पर्यटकीय क्षेत्र पर्सा राष्ट्रिय निकुञ्ज, जनकपुरधाम र गढीमाईमा समेत परेको छ । “आन्तरिक पर्यटकबाहेक बाह्य पर्यटक नहुँदा सिमरा–काठमाडौं तथा काठमाडौं–जनकपुर उडानमा समेत यात्रु घटेका छन् । जनकपुर र सिमराका पाँचतारे तथा लक्जरी होटलको बुकिङ हुन छाडेको छ,” शर्माले भने ।
सरकारले मुख्य राजमार्गको पूर्वाधार द्रुत गतिमा मर्मत गरी अविलम्ब सञ्चालनमा ल्याउनुपर्ने र नेपालका पर्यटकीय गन्तव्य सुरक्षित छन् भन्ने सन्देश भारतीय बजारमा पुर्याउन भूमिका खेल्नुपर्ने उनको भनाइ छ । काठमाडौं तथा पोखराबाट जानकी मन्दिर दर्शनका लागि आउने भारतीयबाहेक अन्य विदेशी तथा आन्तरिक पर्यटकसमेत सडक सञ्जाल बिग्रिएपछि जनकपुर र गढीमाई आउन नसकेको होटल व्यवसायी संघ बाराका अध्यक्ष शम्भु खड्गीले बताए ।
प्राकृतिक विपत्तिका कारण आपूर्ति शृंखला तथा उद्योगसमेत प्रभावित हुँदा बारा–पर्सा आउने उद्योगी तथा व्यावसायिक पर्यटकको संख्या घटेको उनले बताए । “औद्योगिक करिडोर तथा व्यावसायिक सहर वीरगंज आउने व्यावसायिक पर्यटकसँग हुने आर्थिक कारोबारसँगै हामीले आतिथ्यता प्रदान गर्ने अवसरसमेत एक सातायता बन्द भएको छ,” खड्गीले भने ।
राजमार्गको द्रुत मर्मत गरी सडक यातायात पुनस् सहज नभएसम्म मधेस प्रदेशको पर्यटन क्षेत्रको व्यापार पूर्ववत् अवस्थामा फर्कन कठिन हुने व्यवसायीहरूको भनाइ छ । सडक अवरोधका कारण होटल, रेस्टुरेन्ट, यातायात, ट्राभल तथा पर्यटनसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका सबै क्षेत्र प्रभावित बनेका छन् ।