बाराको कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगंज सडकखण्डमा जिपको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
बुधबार राति करिब सवा ९ बजेतिर वीरगंजबाट कलैयातर्फ आउँदै गरेको ना. १ ज ६४०३ नम्बरको जिपले गार्डेन भ्यु रिसोर्टनजिकै पैदल हिँडिरहेका अन्दाजी २२÷२३ वर्षीय युवकलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।
त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएकोमा राति साढे १० बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
मृतकको शव एलएस न्युरो अस्पतालमा राखिएको छ भने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।