रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि कार्यालयमा उपस्थित नहुँदा नगरपालिकाको प्रशासनिक कामदेखि विकास निर्माण र अत्यावश्यक सेवा प्रवाहसम्म प्रभावित भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट मौलापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाइएका उपसचिव नीलमकुमार न्यौपाने भदौ ५ गतेदेखि कार्यालयमा उपस्थित नभएको नगरप्रमुख रीना देवी साहले बताउनुभयो।
यसअघि गरुडा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका न्यौपानेलाई मौलापुरमा जिम्मेवारी तोकिएको थियो। यस्तै, नगरपालिकाका लेखापाल जयप्रकाश महतोको पनि असार मसान्तमै मालपोत कार्यालय मौलापुरमा सरुवा भएको जनाइएको छ। प्रमुख प्रशासकीय अधिकृत र लेखापाल दुवैको अभावमा नगरपालिकाको आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको हो। प्रमुख प्रशासकीय अधिकृत र लेखापाल नहुँदा नगरपालिकाको बैंक खाता सञ्चालनमा समेत समस्या देखिएको नगरप्रमुख साहले बताउनुभयो। जसका कारण कर्मचारी तथा शिक्षकले दुई महिनादेखि तलब पाउन नसकेको जनाइएको छ।
आर्थिक तथा प्रशासनिक प्रक्रिया अघि बढाउन नसक्दा नगरपालिकाबाट सञ्चालन हुँदै आएको एम्बुलेन्स सेवा समेत बन्द भएको बताइएको छ। इन्टरनेट सेवाको बक्यौता भुक्तानी हुन नसकेपछि सेवा काटिँदा वडा कार्यालयबाट प्रदान गरिने सिफारिस, दर्ता, सामाजिक सुरक्षा लगायतका सेवा प्रभावित भएका छन्। स्रोतका अनुसार पछिल्लो ६ महिनाको अवधिमा मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत करिब ४० दिन मात्रै कार्यालयमा उपस्थित भएर काम गरेका थिए। सङ्घीय सरकारले स्थानीय तहको समस्यालाई बेवास्ता गरेको आरोप लगाउँदै नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण सेवा प्रवाह र विकास निर्माणका काम प्रभावित भएको जनाएको छ।


मन्त्रालयले पछिल्लो समय मौलापुर नगरपालिकामा उपसचिव तहका तीन जना प्रमुख प्रशासकीय अधिकृत सरुवा गरे पनि उनीहरू लामो समयसम्म कार्यालयमा हाजिर भएर काम गर्न नसकेको स्रोतको दाबी छ। प्रमुख प्रशासकीय अधिकृतको अभावकै कारण असार मसान्तसम्म नगरपालिकाको करिब ७५ प्रतिशत बजेट खर्च हुन नसकी फ्रिज भएको स्रोतले जनाएको छ। प्रशासनिक प्रक्रिया पूरा गर्न नसक्दा बजेट कार्यान्वयन, विभिन्न विकास योजनाको भुक्तानी तथा अन्य नियमित कामसमेत प्रभावित भएको बताइएको छ।