वीरगंज । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै मधेश प्रदेशका खेलकुद क्षेत्रका उच्च पदाधिकारीहरूले वीरगंजस्थित राधेमाई कुस्ती अखाडाको अवलोकन तथा निरीक्षण गरेका छन् । प्रतियोगिताको तयारी, खेलाडीहरूको अवस्था तथा प्रशिक्षणका लागि आवश्यक पूर्वाधारको अवस्थाबारे जानकारी लिन पदाधिकारीहरूले अखाडाको स्थलगत निरीक्षण गरेका हुन् ।
मधेश खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव सुशील साह, मधेश प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी गुप्ता, मधेश प्रदेश खेलकुद परिषद्का इन्जिनियर शिवचन्द्र यादवलगायतका पदाधिकारीहरू राधेमाई कुस्ती अखाडामा पुगेर त्यहाँ भइरहेको प्रशिक्षण तथा उपलब्ध भौतिक संरचनाको अवस्थाबारे जानकारी लिएका थिए ।
अवलोकनका क्रममा पदाधिकारीहरूले अखाडामा प्रशिक्षणरत कुस्ती खेलाडीहरूसँग प्रत्यक्ष भेटघाटसमेत गरेका थिए । सो अवसरमा खेलाडीहरूको प्रशिक्षण, प्रतियोगिताको तयारी, खेलाडीहरूले भोगिरहेका समस्या तथा आवश्यक सुविधाबारे छलफल गरिएको थियो । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्न सकून् भन्ने उद्देश्यले पदाधिकारीहरूले खेलाडीहरूको मनोबल उच्च राख्न प्रेरणा र हौसला प्रदान गरेका थिए ।
कुस्ती खेल मधेश प्रदेशको महत्वपूर्ण खेल विधाका रूपमा स्थापित हुँदै गए पनि खेलाडीहरूको नियमित प्रशिक्षण तथा प्रतियोगिताका लागि आवश्यक पूर्वाधारको अभाव चुनौतीका रूपमा रहँदै आएको छ । पर्याप्त भौतिक संरचना, प्रशिक्षणस्थल, शेड तथा अन्य आवश्यक व्यवस्थापन नहुँदा खेलाडीहरूले विभिन्न कठिनाइका बीच प्रशिक्षण गर्नुपर्ने अवस्था रहेको कुस्ती लगायत खेलकुद सम्बन्धितका मानिसहरुको भनाई रहेको छ ।
राधेमाई कुस्ती परिवारले खेलाडीहरूको उत्साह बढाउन अखाडामै पुगेर समस्या र आवश्यकताबारे जानकारी लिएको तथा पूर्वाधार निर्माणका लागि प्रतिबद्धता जनाएकोमा मधेश खेलकुद तथा समाज कल्याण मन्त्रालय र मधेश प्रदेश खेलकुद परिषद्का पदाधिकारीप्रति आभार व्यक्त गरेका छन् ।