भारतले महिला एसिया कप २०२६ को उपाधि जिते पनि ट्रफी ग्रहण गर्न अस्वीकार गरेको छ । फाइनलमा श्रीलंकालाई ७२ रनले हराएर च्याम्पियन बनेको भारतले एसियाली क्रिकेट परिषद् (एसीसी) अध्यक्ष मोहसिन नक्वीबाट ट्रफी नलिने अडान लिएपछि पुरस्कार वितरण समारोह विवादमा परेको हो ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको फाइनलपछि नक्वी केही मिनेटअघि मात्र मैदानमा पुगेका थिए । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले भने ट्रफी एसीसीका उपाध्यक्ष खालिद अल जरुनीबाट वितरण गरिनुपर्ने प्रस्ताव राखेको थियो, तर सहमति हुन सकेन ।
विवादका बीच पुरस्कार वितरण कार्यक्रम सञ्चालन भए पनि भारतीय टोलीले न त ट्रफी ग्रहण गर्यो, न पदक नै पायो । नक्वीले उपविजेता श्रीलंकालाई पुरस्कार राशिको चेक हस्तान्तरण गरेका थिए भने भारतीय खेलाडीहरू स्टेजमा उक्लिएनन् ।
भारतका मुख्य प्रशिक्षक अमोल मुजुमदारले बीसीसीआईको निर्णयप्रति टोली एकजुट रहेको बताए ।
“हाम्रो लागि प्रतियोगिता सकिएको छ । हामी एसिया कपका च्याम्पियन हौं, त्यही नै पर्याप्त छ । अब हाम्रो ध्यान एसियाली खेलकुदतर्फ छ” उनले भने ।
एसीसीका अध्यक्ष नक्वी पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० का पनि अध्यक्ष हुन् । यसअघि गतवर्ष पनि भारतले पुरुष एसिया कप जित्दा ट्रफी ग्रहण गर्न अस्वीकार गरेको थियो ।
गत वर्ष पुरुष एसिया कपपछि पनि बीसीसीआईले यस्तै अडान लिँदा विजेता ट्रफी वितरण हुन सकेको थिएन ।