तराई–मधेशका जिल्लामा आज चन्द्रमाको पूजा गरी चौठचन्द्र ९चौरचन० पर्व मनाइँदैछ ।
छठपछिको महत्वपूर्ण पर्वका रूपमा लिइने चौठचन्द्रमा व्रतालुहरू दिनभर उपवास बसेर साँझ गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ ।
सूर्यास्तपछि घर–आँगन गोबरले लिपेर चामलको पिठोबाट आकर्षक अरिपन बनाइन्छ । अरिपनमा पूजाका सामग्री राखेर गणेश र चन्द्रमाको पूजा गरिन्छ ।
माटोका नयाँ भाँडामा दही, केरा, मिठाई, खीर, पुरी तथा विभिन्न परिकार चढाउने चलन छ । पूजापछि गणेश र चन्द्रमासम्बन्धी धार्मिक कथा सुन्ने परम्परा पनि रहेको छ ।
व्रतालुहरूले चन्द्रमालाई अर्घ्य दिएपछि पूजामा चढाइएको प्रसाद ग्रहण गर्ने तथा आफन्त र इष्टमित्रलाई बाँड्ने गर्छन् । परिवारको सुख, समृद्धि र मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण यो पर्व विशेष श्रद्धाका साथ मनाइन्छ ।
धार्मिक मान्यताअनुसार प्रख्यात ज्योतिष तथा तत्कालीन नरेश हेमांगद ठाकुरले चौठचन्द्र पर्वको सुरुवात गरेका थिए । चौठचन्द्र व्रत तथा पूजा गरे विशेष फल प्राप्त हुने विश्वास रहँदै आएको छ ।
मधेशका जिल्लामा विशेष उल्लासका साथ मनाइने यो पर्व भारतका केही राज्यमा समेत प्रचलित छ।