विशेष अदालतले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सोमबार सिंहलाई सफाइ दिने फैसला सुनाएको हो । झुट्टा कागजात पेस गरी नागरिकता दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते मेयर सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारका अनुसार सिंहले अर्कैकी छोरीलाई आफ्नै छोरी भएको देखाई विभिन्न कागजात तयार गरी नेपाली नागरिकता दिलाउन भूमिका खेलेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको थियो । सोही प्रकरणमा सिंहकी छोरी बनेर नागरिकता लिएको आरोपमा सिन्धुपाल्चोककी रिता भट्टराईविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।
यस्तै, वीरगंज महानगरपालिका–३ का तत्कालीन वडा सचिव भिखारी राय र तत्कालीन कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराईलाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो । गृह मन्त्रालयबाट गठित छानबिन समितिका संयोजक तत्कालीन उपसचिव पुष्कर राना र सदस्य तत्कालीन शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतको सोमबारको फैसलासँगै उक्त मुद्दामा मेयर सिंहसहित प्रतिवादीहरूले सफाइ पाएका छन् । सिंहमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि कानुनी व्यवस्थाअनुसार उनी निलम्बनमा थिए ।
भिडियाे रिपाेर्ट