राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी राजविराज–१४ पर्साहीकी ३० वर्षीया बबिताकुमारी पासवान शिशुसहित घर फर्किएकी छन् ।
रगत परीक्षणका लागि आवश्यक रकम जुटाउन नसकेपछि अस्पताल परिसरनजिकै सडकपेटीमा शिशु जन्माएको घटना सार्वजनिक भएपछि बबितालाई स्वास्थ्यकर्मीको टोलीले घरबाट उद्धार गरी अस्पताल ल्याएको थियो । बुधबार बिहान करिब साढे ४ बजे अस्पतालनजिकै सडकपेटीमा बबिताले शिशु जन्माएको दृश्य अस्पताल क्षेत्रको सीसीटीभी क्यामेरामा कैद भएको थियो। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो । घटनापछि सोही दिन दिउँसो स्वास्थ्यकर्मीसहितको टोली बबिताको घर पुगेको थियो। त्यसपछि बबिता र नवजात शिशुलाई अस्पताल ल्याई भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा। रञ्जितकुमार झाका अनुसार पाँच दिनसम्म उपचार गरेपछि बबिता र शिशुलाई सोमबार साँझ डिस्चार्ज गरिएको हो । उनका अनुसार अस्पतालले बबिता र शिशुको उपचार निःशुल्क गरेको थियो। सुरुमा बबितालाई सामान्य ज्वरो देखिए पनि उपचारपछि स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार भएपछि एम्बुलेन्समार्फत घर पठाइएको डा। झाले बताए ।
यस घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र जिल्ला प्रशासन कार्यालयले घटनाको वास्तविकता पत्ता लगाउन छुट्टाछुट्टै छानबिन समिति गठन गरेका थिए। तर, ती समितिको प्रतिवेदन भने अहिलेसम्म सार्वजनिक भएको छैन ।
छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्मका लागि अस्पताल प्रशासनले घटनामा संलग्न भएको भन्दै एक चिकित्सक, दुई स्वास्थ्यकर्मी र तीन कर्मचारीलाई सेवाबाट हटाएको जनाएको छ ।