धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिने बालकको प्रहरीले ११ दिनपछि सकुशल उद्धार गरेको छ । बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कमलेश महतोका १५ महिनाका छोरा सिधान्त महतो भदौ १८ गते अपराह्न करिब ४ः४० बजे घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका थिए । बालक हराएको सूचना प्राप्त भएपछि प्रहरी चौकी गिद्धाबाट प्रहरी टोली परिचालन गरिएको थियो । खोजीका क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी उपरीक्षक रुपेश खड्काको कमान्डमा ६० जनाको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। खोजीमा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको थियो ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल तथा मधेश प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङको कमान्डमा खटिएको प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूहको संयुक्त टोली परिचालन गरिएको थियो । अनुसन्धानका क्रममा बालकलाई कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानले अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पासवानले बालकलाई पटक–पटक स्थान परिवर्तन गर्दै नेपाल तथा भारतका विभिन्न ठाउँमा लुकाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। त्यसपछि धनुषाका विभिन्न नाकामा २४ घण्टा प्रहरी परिचालन गर्नुका साथै प्राविधिक अनुसन्धानमार्फत खोजीलाई तीव्र पारिएको थियो । प्रहरीको घेराबन्दीपछि भदौ २९ गते दिउँसो करिब ३ः३५ बजे पासवानले बालकलाई आफ्नो घरदेखि करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भागेकी थिइन् ।
प्रहरीले तत्काल बालकको उद्धार गरी स्वास्थ्य परीक्षण गराएर अभिभावकको जिम्मा लगाएको छ। बालकको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बालकलाई छाडेर भागेकी पासवानलाई प्रहरीले सोही दिन साँझ करिब ३ः४५ बजे भारततर्फ भाग्दै गरेको अवस्थामा विदेह नगरपालिका–१ महिनाथपुरस्थित दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी पासवानविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।