वीरगंज महानगरपालिका–२६ का वडाध्यक्ष शम्भु मिश्राविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना तथा दुरुपयोग गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय पर्सामा मिति २०८३/०५/२९ गते को दिन मुदा नं ५४७ उजुरी परेको छ । उजुरीसम्बन्धी विषयमा जिल्ला प्रहरी कार्यालय पर्सालाई समेत जानकारी गराइएको बताइएको छ ।
स्थानीयवासीले वडा नम्बर २६ का विभिन्न स्थानमा रहेका पुराना सार्वजनिक संरचना हटाउने क्रममा निकालिएका निर्माण सामग्री वडाध्यक्ष मिश्राको घर निर्माणमा प्रयोग गरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार संरचना भत्काउँदा निकालिएका फलामे डण्डी, इँटा, जस्ता, झ्याल तथा चौकठलगायतका सामग्री व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको हो ।
स्थानीयवासीले सार्वजनिक संरचनाबाट निकालिएका सामग्रीको मूल्य करिब ५० लाख रुपैयाँ बराबर हुन सक्ने दाबी गर्दै त्यसको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनीहरूले संरचना हटाउँदा प्राप्त भएका सामग्रीको विवरण तयार पारिएको छ कि छैन, मूल्यांकन तथा भण्डारण कसरी गरिएको छ र ती सामग्री कहाँ प्रयोग भए भन्ने विषयमा अनुसन्धान गर्न प्रशासनसँग आग्रह गरेका छन् । यसै विषयलाई लिएर केही स्थानीयवासीले वडाध्यक्ष मिश्राको घरमा पुगेर विरोधसमेत गरेका थिए । उनीहरूले घर निर्माणमा सार्वजनिक संरचनाबाट निकालिएको भनिएका जस्ता तथा अन्य सामग्री प्रयोग भएको आरोप लगाएका छन् । विरोधपछि केही सामग्री प्रहरीसमक्ष बुझाइएको स्थानीयवासीको दाबी छ ।
स्थानीयवासीले सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापन जनप्रतिनिधिको जिम्मेवारी भएकाले सार्वजनिक संरचनाबाट निकालिएका सामग्री व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको पुष्टि भए कानुनअनुसार कारबाही हुनुपर्ने माग गरेका छन् ।