जनकपुरधाममा ९ वर्षीया बालिकालाई फकाएर आफूसँग लैजान खोजेको आरोपमा प्रहरीले महोत्तरीका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–१ पर्साका ३६ वर्षीय मनिष ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनलाई प्रहरीको क्राइम टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार भदौ १८ गते रामानन्द चोकस्थित एन्जल बोर्डिङ स्कुलमा पढाइ सकेर बालिका बाहिर निस्कने क्रममा ठाकुरले कुराकानी गर्दै फकाउने र आफूसँग लैजाने प्रयास गरेका थिए ।
घटनाको जानकारी पाएपछि प्रहरीले विद्यालय आसपासको सीसीटीभी फुटेज अध्ययन गरी शंकास्पद व्यक्तिको पहिचान गरेको थियो। पहिचान खुलेपछि प्रहरीले ठाकुरलाई महोत्तरीस्थित उनको घरबाट पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । प्रहरीका अनुसार बालिका परिवारसँगै जनकपुरधाममा डेरा गरी बस्दै आएकी छन्।
उनको स्थायी ठेगाना सिरहा रहेको बताइएको छ । पक्राउ परेका ठाकुर यसअघि शिक्षकका रूपमा काम गरेको र महोत्तरीकै एक रेडियोमा समेत आबद्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
ठाकुरलाई प्रहरी हिरासतमा राखेर घटनाको प्रकृति, उद्देश्य तथा अन्य सम्भावित पक्षबारे थप अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।