सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा घरमै रहेका एक युवकलाई अपरिचित व्यक्तिहरूको समूहले रातिको समयमा आफूसँगै लिएर गएपछि उनको अवस्था अझै अज्ञात रहेको छ ।
सोमबार राति करिब १२ बजे ६/७ जनाको समूह घरमा प्रवेश गरी परिवारका सदस्यलाई धम्क्याउँदै २४ वर्षीय अभिनन्द यादवलाई लिएर गएको आफन्तले बताएका छन् । उनीहरूका अनुसार समूहका केही व्यक्तिले पेस्तोल देखाएर परिवारका सदस्यलाई नियन्त्रणमा लिएका थिए । अभिनन्दका काका अमोद यादवका अनुसार घरको गेट घेरेर बसेको समूहले उनलाई उठाएर बलान नदीतर्फको बाटो हुँदै लिएर गएको थियो। घटनास्थलबाट करिब ५ सय मिटरको दूरीमै नेपाल–भारत सीमा रहेको उनले बताए ।
घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराए पनि समयमा प्रहरी नआएको भन्दै आफन्त तथा स्थानीयवासीले मंगलबार बेल्ही प्रहरी चौकीअगाडि प्रदर्शन गरेका छन्। उनीहरूले युवकको तत्काल खोजी गरी घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न माग गरेका छन् ।
बलान बिहुल गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मीनारायण झाले घरभित्रै रहेका नागरिकलाई समेत सुरक्षित राख्न नसक्ने अवस्था देखिनु गम्भीर विषय भएको बताए। प्रहरी चौकी र सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी नजिकै रहे पनि घटना हुनु र तत्काल प्रभावकारी प्रतिक्रिया नआउनु चिन्ताजनक भएको उनको भनाइ छ । वडाध्यक्ष झाले बेपत्ता युवकको खोजीमा प्रहरीले विशेष सक्रियता देखाउनुपर्ने माग गरेका छन् ।
यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक एसपी रुपक खड्काले युवकको खोजी भइरहेको बताएका छन्। प्रारम्भिक जानकारीअनुसार युवक भारतमा गम्भीर प्रकृतिका अपराधमा संलग्न रहेको र भारतीय प्रहरीले नियन्त्रणमा लिएको हुन सक्ने सूचना प्राप्त भएको उनले बताए । तर युवकलाई पेस्तोलसहित आएको समूहले लगेको विषयमा भने नेपाल प्रहरीले अहिलेसम्म पुष्टि गर्न नसकेको एसपी खड्काले स्पष्ट पारे। भारतीय प्रहरीसँग आवश्यक समन्वय गरी घटनाबारे थप जानकारी लिने काम भइरहेको उनले बताए ।
घटनामा युवकलाई कसले, किन र कुन अवस्थामा लिएर गएको भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।