टप टेन मधेश
१ — मकवानपुरमा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना, ४ जनाको मृत्यु, ४ जना घाइते
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरास्थित हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००१ ज ०७२० नम्बरको गाडी सडकबाट करिब १ हजार मिटर तल खसेको हो। दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनालाई काठमाडौं र एक जनालाई हेटौँडा पठाइएको प्रहरीले जनाएको छ।
२ — सप्तरीमा २४ वर्षीय युवकलाई पेस्तोल देखाएर घरबाटै लिएर गएपछि अवस्था अज्ञात
सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई ६/७ जनाको समूहले राति घरबाटै लिएर गएको परिवारले जनाएको छ। घरमा प्रवेश गरेको समूहका केही व्यक्तिले पेस्तोल देखाएर परिवारलाई धम्क्याएको बताइएको छ। यादवलाई बलान नदीतर्फ लगिएको र नेपाल–भारत सीमा करिब ५०० मिटर मात्र टाढा रहेकाले परिवार थप चिन्तित बनेको छ। उनको अवस्था अझै अज्ञात रहेको छ।
३ — ९ वर्षीया बालिकालाई फकाएर लैजान खोजेको आरोपमा महोत्तरीका युवक पक्राउ
जनकपुरधाममा ९ वर्षीया बालिकालाई फकाएर आफूसँगै लैजान खोजेको आरोपमा महोत्तरीका ३६ वर्षीय मनिष ठाकुर पक्राउ परेका छन्। रामानन्द चोकस्थित एन्जल बोर्डिङ स्कुलनजिकै विद्यालयबाट बाहिर निस्किएकी बालिकालाई फकाएर लैजान खोजेको आरोप छ। जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान टोलीले ठाकुरलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
४ — दशैँ–तिहारमा एटीएमबाट १०० रुपैयाँका नोटसमेत निकाल्न सकिने
नेपाल राष्ट्र बैंकले दशैँ–तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थालाई यस्तो व्यवस्था गर्न पत्राचार गरेको हो। साना दरका नोट सटहीका लागि बैंकका शाखा तथा काउन्टरमा हुने भीड कम गर्ने उद्देश्यले एटीएमबाटै नोट उपलब्ध गराउन लागिएको हो।
५ — उच्च अदालतका लागि ३ न्यायाधीश सिफारिस, तीन फरक अदालतमा जिम्मेवारी
न्यायपरिषद् र न्याय सेवा आयोगको बैठकले उच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस गरेको छ। सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालत सुर्खेत, कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेलाई उच्च अदालत जनकपुर र न्याय सेवा विभागका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरका लागि सिफारिस गरिएको छ।
६ — नक्कली भारतीय रुपैयाँ कारोबारको आरोपमा धनुषाकी हिरादेवी भारतमा पक्राउ
नक्कली भारतीय रुपैयाँको कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’लाई भारतीय प्रहरीले पक्राउ गरेको छ। उनलाई नेपाल–भारत सीमा क्षेत्रको दुहवीस्थित दशगजाबाट सोमबार राति करिब ११ः४५ बजे पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ। उनका श्रीमान् भारतको बिहारमा नक्कली भारतीय नोटसहित पक्राउ परेपछि हिरादेवी पनि सोही कारोबारसँग जोडिएको आशंका गरिएको प्रहरीले जनाएको छ।
७ — धनुषाबाट हराएका १५ महिने बालक ११ दिनपछि सकुशल उद्धार
धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिने सिधान्त महतोको प्रहरीले ११ दिनपछि सकुशल उद्धार गरेको छ। भदौ १८ गते अपराह्न घरको आँगनबाट हराएका बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले एसपी रुपेश खड्काको नेतृत्वमा ६० सदस्यीय टोली परिचालन गर्नुका साथै तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो।
८ — गरुड क्यासिनोमा जुवा खेल्ने ११ नेपाली पक्राउ, १० लाख ८५ हजार रुपैयाँ बरामद
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित गरुड क्यासिनोबाट जुवा खेलिरहेको आरोपमा ११ नेपाली पक्राउ परेका छन्। क्यासिनोले नेपाली नागरिकलाई क्वाइनमार्फत जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले कारबाही गरेको हो। प्रहरीले उनीहरूको साथबाट ९ वटा मोबाइल, विभिन्न दरका क्वाइन र १० लाख ८५ हजार ६ सय रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
९ — अख्तियारमा आयुक्तदेखि अनुसन्धान अधिकृतसम्म खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न सांसद पन्तको प्रस्ताव
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्तदेखि अनुसन्धान अधिकृतसम्म खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रस्ताव गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अख्तियारका लागि छुट्टै जनशक्ति समूह गठन गर्नुपर्ने बताएका हुन्। अहिले अन्य सरकारी सेवाका समूहबाट कर्मचारी ल्याउने तथा अवकाशप्राप्त कर्मचारीलाई समेत जिम्मेवारी दिने अभ्यास रहेको भन्दै उनले खुला प्रतिस्पर्धाबाट दक्ष जनशक्ति छनोट गर्नुपर्नेमा जोड दिए।
१० — सिरहाको हरिपुरमा खानेपानी समस्या अध्ययन गर्न प्राविधिक टोली पुग्यो
सिरहाको गोलबजार नगरपालिका–१२ बेटौना–हरिपुरमा देखिएको खानेपानी समस्या अध्ययन गर्न खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरधामको प्राविधिक टोली पुगेको छ। करिब २०० परिवार एउटै सबमर्सिबल पम्पमा निर्भर रहे पनि भूमिगत पानीको सतह घटेपछि खानेपानीको समस्या बढेको स्थानीयले बताएका छन्। प्राविधिक टोलीले स्थलगत अध्ययन गरी समस्या समाधानका लागि आवश्यक उपायबारे सुझाव दिने जनाएको छ।