नेशनल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसी), बीरगंजमा कार्यरत आवासीय चिकित्सकहरू (रेसिडेन्ट डाक्टरहरू) ले विभिन्न माग राख्दै आजबाट पेन-डाउन आन्दोलन सुरु गरेका छन् ।
अस्पताल प्रशासनले पेसागत अधिकार र सुरक्षाका मागहरूप्रति लगातार उदासीनता देखाएको भन्दै उनीहरू कडा आन्दोलनमा उत्रिन बाध्य भएका हुन् ।
अस्पतालका प्रशासन प्रमुखलाई सम्बोधन गर्दै जारी गरिएको माग अनुसार, यसअघि पटक-पटक मौखिक आग्रह गरिनुका साथै दुई दिनअघि लिखित रूपमा समेत मागपत्र पेस गरिएको थियो । तर प्रशासनबाट कुनै पनि अर्थपूर्ण पहल नभएपछि बाध्य भएर पेन-डाउन आन्दोलनको घोषणा गर्नुपरेको चिकित्सकहरूले जनाएका छन् ।
आफ्ना मागहरू आधिकारिक रूपमा सम्बोधन नभएसम्म यो आन्दोलन निरन्तर जारी रहने चेतावनी दिएका छन् ।
आवासीय चिकित्सकहरूका मुख्य ६ बुँदे मागहरू:
- आधारहीन मुद्दा खारेज: पहिलो वर्षका सात जना आवासीय चिकित्सकहरूका विरुद्ध दायर गरिएका सबै आधारहीन तथा बदलाको भावनाले प्रेरित मुद्दाहरू तत्काल फिर्ता लिनुपर्ने ।
- ड्युटीको समयसीमा निर्धारण: चिकित्सा शिक्षा आयोग (IOM) को मापदण्ड र सिफारिस अनुसार लगातार २४ घण्टाको ड्युटीपछि अनिवार्य रूपमा अफ-ड्युटी (विश्राम) को व्यवस्था गरिनुपर्ने, जसले चिकित्सक र बिरामी दुवैको सुरक्षा सुनिश्चित गरोस् ।
- नियमित तलब वितरण: नेपाल सरकारसँग भएको सहमति बमोजिम आवासीय चिकित्सकहरूको ८औँ तहको तलब कुनै पनि ढिलासुस्ती बिना नियमित रूपमा समयमै भुक्तानी हुनुपर्ने ।
- कारबाहीको धम्कीमा रोक: यस आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सहभागी हुने कुनै पनि चिकित्सकमाथि तलब कटौती वा अन्य कुनै किसिमको भेदभावपूर्ण कारबाही नगरिने लिखित ग्यारेन्टी हुनुपर्ने ।
- भत्ता कटौतीसम्बन्धी नीति सच्याउने: शुक्रबार वा आइतबार बिदा लिँदा मानव संसाधन (HR) विभागद्वारा जबरजस्ती अनुपस्थित देखाई शनिबारको भत्ता कटौती गर्ने unfair (अनुचित) नीति खारेज गरिनुपर्ने र यसअघि काटिएको भत्ता फिर्ता हुनुपर्ने ।
- शैक्षिक धम्की बन्द: प्रशासन वा संकायका तर्फबाट आवासीय चिकित्सकहरूलाई दिइने शैक्षिक क्षति वा फेल गराउने धम्कीपूर्ण चेतावनीहरू पूर्ण रूपमा बन्द गरिनुपर्ने, र शैक्षिक मूल्यांकनलाई जायज आन्दोलन दबाउने हतियार बनाउन नपाइने ।
भिडियाे रिपाेर्ट