सिरहा प्रहरीले ठूलो परिमाणमा गाँजा बोकेको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ। प्रहरीले मंगलबार साँझ सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकबाट पाँच वटा बोरामा लुकाएर राखिएको १०५ किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार चोहर्वा–विष्णुपुर हुँदै आएको ज १ च १२१३ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा प्रहरीले पछ्याएको थियो ।
प्रहरीले पछ्याउन थालेपछि चालकले एम्बुलेन्स तीव्र गतिमा चलाउँदै प्रहरीको ब्यारिकेडसमेत तोडेर अघि बढेका थिए। हुलाकी सडकमा पुगेपछि भने चालकले एम्बुलेन्स छाडेर फरार भएका थिए । त्यसपछि पछ्याउँदै पुगेको प्रहरी टोलीले एम्बुलेन्स नियन्त्रणमा लिएर जाँच गर्दा पाँच वटा बोरामा राखिएको १०५ किलो गाँजा बरामद गरेको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए।
प्रहरीले एम्बुलेन्सका चालकको पहिचान तथा खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।