महोत्तरीमा एक युवकको हत्या गरी शव टुक्रा–टुक्रा पारेर सेफ्टी ट्यांकीमा लुकाएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
भंगहा नगरपालिका–६ का २२ वर्षीय विवेककुमार सरदारको हत्या गरी शव लुकाएको आरोपमा प्रहरीले बलवा नगरपालिका–७ बनौटाका ५८ वर्षीय अशोककुमार ठाकुर, उनकी ५० वर्षीया श्रीमती रामकली देवी, २२ वर्षीया बुहारी सोनुकुमारी ठाकुर र महोत्तरी गाउँपालिका–५ का २८ वर्षीय सियाराम शर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा अशोककुमार ठाकुरका छोरा जितेन्द्रकुमार ठाकुर भने फरार छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक विश्वम्भरनाथ साहका अनुसार विवेक भदौ १५ गते जलेश्वर नगरपालिका–११ पिगौनास्थित दिदीको घरबाट बा ३१ प ६१३८ नम्बरको मोटरसाइकलमा भंगहास्थित आफ्नो घरतर्फ जाने क्रममा सम्पर्कविहीन भएका थिए। त्यसपछि परिवारले भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएको थियो ।
प्रहरीले खोजतलास तथा अनुसन्धानका क्रममा सीसीटीभी फुटेज र प्राविधिक विश्लेषण गरेको थियो । अनुसन्धानका क्रममा विवेक बलवा नगरपालिका–७ बनौटाबाट हराएको देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो । भदौ २६ गते अशोककुमार ठाकुरको घर पछाडि रहेको शौचालयको सेफ्टी ट्यांकीभित्र विवेकको शव टुक्रा–टुक्रा पारिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विवेकको सोनुकुमारी ठाकुरसँग प्रेम सम्बन्ध रहेको खुलेको छ। सोही सम्बन्धका कारण उनलाई योजनाबद्ध रूपमा घरमा बोलाएर हत्या गरिएको र धारिलो हतियार प्रयोग गरी शव टुक्रा–टुक्रा पारेर सेफ्टी ट्यांकीमा लुकाइएको प्रहरीको दाबी छ । शव लुकाएपछि सेफ्टी ट्यांकीमाथि सिमेन्ट र बालुवा प्रयोग गरी प्लास्टर गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक साहले जानकारी दिए। घटनामा फरार रहेका जितेन्द्रकुमार ठाकुरको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।