कानुनमन्त्री सोविता गौतमले आमालाई कम्तीमा ६ महिना र बुवालाई ४२ दिनसम्म तलबसहितको प्रसूति तथा स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरिएको जानकारी दिएकी छन् ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार पारिएको विधेयकमा यस्तो व्यवस्था समेटिएको उनले बताएकी हुन् । मन्त्री गौतमले स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै प्रस्तावित व्यवस्थाबारे जानकारी दिएकी हुन् । उनका अनुसार विधेयकलाई अब मन्त्रिपरिषद्मार्फत संसदमा पेस गर्ने तयारी भइरहेको छ ।
प्रस्तावित व्यवस्थाअनुसार आमाले कम्तीमा ६ महिनासम्म तलबसहितको प्रसूति बिदा पाउनेछन् । यस्तै, बुवालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।
मन्त्री गौतमले बदलिँदो जीवनशैली र बढ्दो कामको चापका कारण धेरै परिवार एक वा दुई सन्तानमा सीमित हुँदै गएको उल्लेख गर्दै नवजात शिशु तथा परिवारलाई पर्याप्त समय दिन अभिभावकलाई अवसर उपलब्ध गराउनु राज्यको जिम्मेवारी भएको बताएकी छन् ।
उनले बच्चा जन्माउने प्रक्रिया आमासँग प्रत्यक्ष रूपमा जोडिए पनि बच्चाको पालनपोषण तथा हेरचाह आमाको मात्र जिम्मेवारी नभएको उल्लेख गरेकी छन् । अभिभावकत्व आमाबुवा दुवैको साझा जिम्मेवारी भएकाले बुवाको सहभागितालाई समेत कानुनी रूपमा सम्बोधन गर्न खोजिएको उनको भनाइ छ । प्रस्तावित विधेयकले मातृत्वसँगै पितृत्व तथा नवजात शिशुको प्रारम्भिक हेरचाहमा बुवाको भूमिकालाई नीतिगत रूपमा समेट्ने अपेक्षा गरिएको छ ।
विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि संसदमा पेस हुनेछ । संसदबाट पारित भई कार्यान्वयनमा आएपछि मात्रै प्रस्तावित प्रसूति तथा स्याहार बिदासम्बन्धी व्यवस्था लागू हुनेछ ।