डेढ वर्षअघि जनकपुरधामका दुई होटलमा एक बालिकालाई १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोग लागेका मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
२३ वर्षीय राइनलाई भदौ २६ गते धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको छ ।
यसै घटनामा पीडित बालिकालाई २० लाख रुपैयाँमा मिलापत्र गर्न दबाब दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। धनुषा जिल्ला अदालतले सोमबार उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। धरौटी बुझाएपछि उनी रिहा भएको प्रहरीले जनाएको छ ।
मुख्य अभियुक्त राइन घटना भएपछि फरार भएर कतार पुगेका थिए । उनलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी गत साउन २५ गते नेपाल ल्याइएको थियो। पीडित बालिकाको बयानका आधारमा वडाध्यक्ष कवारीलाई पनि गत शुक्रबार धनुषा प्रहरीले पक्राउ गरेको थियो ।
धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर अपहरण गरी जनकपुरधाम ल्याएको र विभिन्न होटलमा लगेर जबरजस्ती करणी गरेको अभियोग राइनसहितका व्यक्तिमाथि लागेको छ।
प्रहरीका अनुसार २०८१ चैत २९ गते आमा खेतमा गएको समयमा घरनजिकै पसल सञ्चालन गर्ने राइनले बालिकालाई विवाहको प्रलोभन देखाएर अपहरण गरी जनकपुरधाम ल्याएको आरोप छ। त्यसपछि होटलमा राखेर आफूसहित अन्य व्यक्तिले जबरजस्ती करणी गरेको तथा पैसाको लेनदेनमा अन्य व्यक्तिलाई समेत बालिकामाथि जबरजस्ती करणी गर्न लगाएको अभियोग छ।
बालिका त्यहाँबाट भागेर ज्यान जोगाउन सफल भएपछि २०८२ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी थिइन्। तर जाहेरीपछि पनि अनुसन्धान र कारबाही अघि नबढेको आरोप पीडित पक्षले लगाएको छ। यही क्रममा मुख्य अभियुक्त राइन विदेश फरार भएको बताइएको छ।
त्यसपछि २०८२ असार १७ गते बिहान पुनः बालिका अपहरणमा परेको जाहेरीमा उल्लेख छ। घरबाट बाख्रा बाँध्न बाहिर निस्किएको समयमा गाडीमा आएका अञ्जली महरासहित तीन जनाले कपडाले आँखा बाँधेर अपहरण गरेको पीडितको बयानमा उल्लेख छ।
अपहरणपछि बालिकालाई जनकपुरधामको पिडारीचोकस्थित होटल सीएफसीमा दुई दिन र त्यसपछि मुरलीचोकस्थित मधेश प्रदेश गेस्ट हाउसमा १७ दिनसम्म बन्धक बनाएर राखिएको अभियोग छ ।
मुद्दाको मिसिलमा होटल सञ्चालकसहितका प्रतिवादीहरूले बालिकामाथि जबरजस्ती करणी गरेको तथा अन्य व्यक्तिबाट समेत रकम लिएर जबरजस्ती करणी गर्न लगाएको उल्लेख रहेको प्रहरीले जनाएको छ ।
यस घटनासँग सम्बन्धित मानव बेचबिखन, अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी गरी दुईवटा मुद्दा धनुषा जिल्ला अदालतमा दर्ता छन् । ती मुद्दामा दुई प्रहरीसहित करिब एक दर्जन व्यक्ति अभियुक्त छन्।
प्रहरीका अनुसार अधिकांश अभियुक्तहरू अझै फरार छन्। घटनापछि चौतर्फी दबाब र सुरक्षाको जोखिमका कारण पीडित बालिका हालसम्म पनि सेफ हाउसमा रहेकी छन्।