नेपालमा जापानी इन्सेफ्लाइटिस जेई संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको स्थिति प्रतिवेदनअनुसार देशका १६ जिल्लामा गरी २६ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये सबैभन्दा धेरै झापाका ६ जना छन् ।
त्यस्तै सुनसरी, सप्तरी, पर्सा, कैलाली र अर्घाखाँचीमा २–२ जना तथा मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रे, दाङ, तनहुँ, नवलपरासी पश्चिम, कञ्चनपुर र रोल्पामा १–१ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो पटक तनहुँ र रोल्पामा एक–एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ पुरुष र १४ महिला रहेका छन्। तथ्यांकअनुसार मृतकमध्ये ७७ प्रतिशत ५० वर्षभन्दा माथिका छन्।
प्रतिवेदनअनुसार जापानी इन्सेफ्लाइटिसबाट मृत्यु भएका सबै बिरामीले खोप नलगाएको पाइएको छ। संक्रमितमध्ये रोगको केस फ्याटालिटी रेट अर्थात् मृत्युदर २१ प्रतिशत रहेको छ ।
हालसम्म देशका सातवटै प्रदेशका ३६ जिल्ला र ८४ स्थानीय तहमा १२१ जनामा प्रयोगशालाबाट जापानी इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएको छ। तीमध्ये ५६ जना हाल उपचाररत रहेका छन् ।
पूर्वी नेपालबाट फैलिन सुरु भएको संक्रमण पछिल्लो समय तराईका जिल्लामा बढी देखिएको प्रतिवेदनले जनाएको छ।
विशेषगरी धान खेत तथा सुँगुर–बङ्गुर फार्म आसपास बसोबास गर्ने र जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप नलगाएका नागरिक संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।