१
मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकार संकटमा पर्ने संकेत देखिएको छ । नेकपा एमाले र नेकपाले १५ बुँदे सहमति कार्यान्वयन नभए सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने चेतावनी दिएका छन्। एमाले र नेकपाले मुख्यमन्त्रीमाथि उठेका आरोपबारे जवाफ दिनुपर्ने, १५ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने र मन्त्रालयको संख्या घटाउनुपर्ने माग अघि सारेका छन्। मुख्यमन्त्री यादवसँग छलफलपछि समर्थन फिर्ताबारे निर्णय हुन सक्ने बताइएको छ।
२
नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजमा कार्यरत आवासीय चिकित्सकहरूले विभिन्न माग राख्दै पेन–डाउन गरी आन्दोलन सुरु गरेका छन् । प्रशासनले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै चिकित्सकहरूले आन्दोलन थालेका हुन् । उनीहरूले मुद्दा फिर्ता, २४ घण्टे ड्युटीपछि विश्राम, नियमित ८औँ तहको तलब, भत्ता कटौती रोक्नेलगायत ६ बुँदे माग अघि सारेका छन्।माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ ।
३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिबासमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साहलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले साहलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा बर्दिबासस्थित एक होटलबाट पक्राउ गरेको हो । पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको आयोगको बर्दिबास कार्यालयका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिएका छन ।
४
मधेश केन्द्रित दलहरूले गठन गरेको अग्रगामी मोर्चाका युवा संगठनहरूले पेट्रोलियम पदार्थसहित अत्यावश्यक वस्तुको मूल्यवृद्धिविरुद्ध आन्दोलन घोषणा गरेका छन् । मोर्चाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, अत्यावश्यक वस्तुको सहज आपूर्ति र महँगी नियन्त्रण गर्न माग गरेको छ। माग पूरा नभए असोज ६ गते नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने चेतावनी दिएको छ। मोर्चाले कालोबजारी, भ्रष्टाचार, अनियमितता तथा सरकारी सेवा प्रवाहमा देखिएको ढिलासुस्ती अन्त्य गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ।

५
औरही नगरपालिकाको कार्यालयमा केही व्यक्ति प्रवेश गरी नगर प्रमुख प्रदीपकुमार खड्काको कार्यकक्षमै हातपात तथा तोडफोड गरेको आरोप लागेको छ।घटनापछि जनप्रतिनिधि र कर्मचारीको सुरक्षाको माग गर्दै नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरेको छ।नगरपालिकाका कर्मचारीले घटनामा संलग्नलाई कानुनी कारबाही तथा सार्वजनिक सम्पत्तिमा भएको क्षतिको भरपाइ गर्न माग गरेका छन्।
६
प्रहरीले सिरहामा १०५ किलो लागूऔषध गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।
ज १ च १२१३ नम्बरको एम्बुलेन्स सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डबाट नियन्त्रणमा लिइएको हो । गोप्य सूचनाका आधारमा प्रहरीले पछ्याएपछि चालक एम्बुलेन्स छाडेर फरार भएका थिए । एम्बुलेन्स जाँच गर्दा पाँचवटा जुटका बोरामा राखिएको १०५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
८
बालिकालाई होटलमा बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन्।धनुषा जिल्ला अदालतले भदौ २६ गते राइनलाई थुनामा पठाउने आदेश दिएको हो। घटनामा पीडितलाई मिलापत्रका लागि दबाब दिएको आरोप लागेका धनौजी–५ का वडाध्यक्ष याकुब कवारी भने एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।घटनासम्बन्धी दुई मुद्दामा करिब एक दर्जन व्यक्ति अभियुक्त रहेकामा अधिकांश फरार रहेको प्रहरीले जनाएको छ।
९
विश्वकर्मा पूजा नजिकिएसँगै मधेश प्रदेशका जिल्लाहरूमा माटाका मूर्ति बनाउने कलाकारलाई भ्याइनभ्याइ भएको छ। जिल्लाका विभिन्न स्थानमा मूर्तिकारहरू विश्वकर्मा बाबाका मूर्ति बनाउन र रङरोगन गर्न व्यस्त छन् । विश्वकर्माको एउटा मूर्ति आकारअनुसार तयार गर्न समय लाग्ने भए पनि प्रतिगोटा १ हजार ६ सयदेखि २ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। विश्वकर्मा पूजासँगै दसैँ, तिहार, कृष्णाष्टमी र सरस्वती पूजालगायतका अवसरमा पनि माटाका मूर्ति बनाउँदै आएको छ। विश्वकर्मा पूजाका दिन औजार, मेसिन तथा सवारीसाधनको पूजा गर्ने परम्परा रहेकाले उद्योग, कलकारखाना, सुनचाँदी व्यवसाय, प्रेस तथा यातायात क्षेत्रमा समेत पूजाको तयारी तीव्र बनेको छ।
१०
नेपालमा जापानी इन्सेफ्लाइटिस ९जेई० संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका अनुसार १६ जिल्लामा २६ जनाको मृत्यु भएको हो। झापामा सबैभन्दा धेरै ६ जनाको मृत्यु भएको छ।हालसम्म सातै प्रदेशका ३६ जिल्लाका ८४ स्थानीय तहमा १२१ जनामा संक्रमण पुष्टि भएको छ भने ५६ जना उपचाररत छन्। मृतकमध्ये सबैले जेईविरुद्धको खोप नलगाएको पाइएको प्रतिवेदनमा उल्लेख छ।