गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले सेवा प्रवाहलाई जनमैत्री, पहुँचयोग्य र प्रभावकारी बनाउने उद्देश्यले बिहीबारदेखि नयाँ सेवा सुधार कार्यक्रम लागू गरेको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाका अनुसार सबै विभाग प्रमुखको सहमतिमा नयाँ सेवा सुधार योजना तयार गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको अस्पताल सेवा सुधार कार्यविधि, २०८२ अनुरूप अस्पतालमा उपलब्ध पूर्वाधार तथा जनशक्तिलाई ध्यानमा राखी कार्यक्रम तयार गरिएको उनले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत अस्पतालका विभिन्न विभागमा चिकित्सक तथा स्वास्थ्यकर्मीको ड्युटी रोस्टर व्यवस्थित गरिएको छ । स्त्री तथा प्रसूति रोग विभागमा आठ जना चिकित्सकको कार्यतालिका बनाइएको छ भने मेडिसिन, बालरोग, फरेन्सिक मेडिसिन, इमर्जेन्सी, सर्जरी र हाडजोर्नी विभागमा समेत जनशक्ति व्यवस्थापनको नयाँ व्यवस्था गरिएको छ ।
इमर्जेन्सी सेवामा पाँच जना मेडिकल अधिकृत तथा १८ जना एचए, एएचडब्लू, एएनएम र स्टाफ नर्स परिचालन गर्ने व्यवस्था गरिएको छ ।
अस्पतालले ओपीडी सेवा बिहान ९ देखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने जनाएको छ । सबै विभागमा बिहान ९ः३० र बेलुकी ६ः३० बजेदेखि राउण्ड सुरु गर्ने व्यवस्था गरिएको छ । मेडिसिन तथा बालरोग वार्डका लागि एउटै स्टाफ भएकाले बिरामीको सेवा प्रवाह सहज बनाउन सम्बन्धित वार्डबाट राउण्ड सुरु गर्ने समयसमेत समायोजन गरिएको छ ।
अस्पतालमा कार्यरत एएचए, एएचडब्लू तथा स्टाफ नर्सलाई आवश्यकता र दक्षताका आधारमा विभागबिच ‘जब रोटेसन’ गर्ने व्यवस्था अघि सारिएको छ । यसबाट स्वास्थ्यकर्मीको दक्षता वृद्धि हुनुका साथै आकस्मिक अवस्थामा जनशक्ति व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको डा. झाले बताए ।
स्त्री तथा प्रसूति विभागको संवेदनशीलता र बिरामीको गोपनीयतालाई ध्यानमा राख्दै उक्त विभागमा महिला स्टाफलाई प्राथमिकता दिइएको छ । रोटेसन प्रणालीअन्तर्गत इमर्जेन्सी, मेडिसिन र पोस्टअपरओटीमा महिला तथा पुरुष दुवै स्टाफ परिचालन गर्न सकिने व्यवस्था गरिएको छ भने स्त्री तथा प्रसूति विभागमा महिला स्टाफ मात्र खटाउने योजना लागू गरिएको छ ।
नयाँ स्टाफलाई विशिष्ट विभागमा जिम्मेवारी दिनुअघि तीनदेखि पाँच दिनसम्म अभिमुखीकरण वा ओभरल्यापिङ गराउने र रोटेसनको अवधि कम्तीमा तीनदेखि बढीमा छ महिनासम्म कायम गर्ने व्यवस्था गरिएको निमित्त मेसु डा. झाले जनाए ।
आमा सुरक्षा कार्यक्रम प्रभावकारी बनाइने
अस्पतालले आमा सुरक्षा कार्यक्रमअन्तर्गत गर्भवती महिलाको स्वास्थ्य जाँच तथा अभिलेख व्यवस्थित गर्न एएनसी कार्ड अनिवार्य रूपमा प्रयोगमा ल्याउने भएको छ । यसअघि अस्पतालमा प्रयोगमा नरहेको एएनसी कार्ड लागू गर्न निर्देशन दिइएको छ ।
नियमित गर्भजाँच गराएका महिलालाई तोकिएको मापदण्ड पूरा भएपछि उत्प्रेरणा भत्तासमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ । चार, छ, आठ र नौ महिनामा स्वास्थ्य संस्थामा गई कम्तीमा चार पटक नियमित जाँच गराएको प्रमाण एएनसी कार्डमा राखिनेछ । आवश्यक हस्ताक्षर तथा छापपछि ८०० रुपियाँ उत्प्रेरणा भत्ता उपलब्ध गराइने अस्पतालले जनाएको छ ।
प्रसूति सेवाका लागि आउने महिलाको आवश्यक प्रयोगशाला परीक्षण निःशुल्क गर्ने व्यवस्था पनि अस्पतालले गरेको छ । सामान्य प्रसूतिका लागि रक्त समूह तथा आरएच फ्याक्टर, हेमोग्लोबिन, पिसाब, रक्तचिनी, एचआईभी, हेपाटाइटिस बी तथा भीडीआरएल परीक्षण निःशुल्क गरिनेछ । जटिल प्रसूति वा शल्यक्रिया आवश्यक पर्ने अवस्थामा चिकित्सकीय रूपमा आवश्यक थप परीक्षणसमेत आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क गरिने व्यवस्था गरिएको छ ।
अस्पतालमा बच्चा जन्माएपछि डिस्चार्ज हुने समयमा आमालाई यातायात खर्चबापत एक हजार रुपियाँ नगद उपलब्ध गराउने व्यवस्था गरिएको छ । सम्बन्धित विभागले सुत्केरी महिलालाई डिस्चार्जकै समयमा यातायात तथा प्रोत्साहन रकम उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
हेल्प डेस्क र गुनासो सुनुवाइ
सेवाग्राहीलाई आवश्यक जानकारी तथा सहजीकरणका लागि ओपीडी सेवाको अगाडि, सेवाग्राही प्रवेशद्वारमा हेल्प डेस्क स्थापना गरिएको छ । साथै आवास व्यवस्थापन समिति तथा गुनासो व्यवस्थापन तथा सुनुवाइ समिति गठन गर्ने निर्णय गरिएको छ । अस्पतालका विभिन्न स्थानमा गुनासो पेटिकासमेत राखिने जनाइएको छ ।
अस्पताल परिसरको सरसफाइका लागि प्रत्येक शनिबार बिहान ७ देखि ९ बजेसम्म फोहोर व्यवस्थापन इकाइको नेतृत्वमा सम्पूर्ण कर्मचारीको सहभागितामा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ । अस्पताल परिसरमा बस्ने कर्मचारीको सहभागिता अनिवार्य गरिने जनाइएको छ ।
फार्मेसी, स्टोर, ल्याब र प्रशासनलगायत अन्य सेवामा भने तत्कालका लागि विद्यमान व्यवस्था कायम राखी विभागीय मूल्याङ्कन गरिने भएको छ । त्यस्ता विभागले १५ दिनभित्र सेवा सुधारका योजना पेस गर्नुपर्ने अस्पतालको कार्यक्रममा उल्लेख छ ।
गत भदौ २४ गते राजविराज नगरपालिका–१४ परसाही टोलकी २९ वर्षीया बबिता पासमानले अस्पताल परिसरको मूल गेटबाहिर बच्चा जन्माएको घटनापछि अस्पताल प्रशासन तथा सेवा प्रवाहमाथि प्रश्न उठेको थियो । त्यसपछि अस्पतालले नयाँ सेवा सुधार योजना लागू गरेको जनाएको छ ।
अस्पतालले योजना बनाएर मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयन गर्न सकेमा स्वास्थ्य सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।