हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरधामले हुलाकी सडकको क्षेत्राधिकारभित्र रहेका स्थायी तथा अस्थायी संरचना हटाउन ३५ दिनको समय दिएको छ ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सडक सीमाभित्र रहेका घर, टहरा तथा सडकको आवागमन, संरक्षण र निर्माण कार्यमा बाधा पुग्ने गरी राखिएका विभिन्न मालवस्तु तथा निर्माण सामग्री हटाउन सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई आग्रह गरेको हो ।
कार्यालयअन्तर्गत सिरहाको बलान–कमला सडक, धनुषाको जनकपुर–यदुकुहा तथा जनकपुर–कदमचोक–कप्तौल–तीनकौरिया–कमला सडक, धनुषा–महोत्तरीको जनकपुर–बसबिट्टी–भ्रमरपुरा–बलवा–सरपल्लो–भोल्ही–पोखरभिण्डा सडक तथा सर्लाहीको शीतलपुर–मलङ्गवा–खरैयाटोल र बाँकेको संग्रामपुर सडकको सीमाभित्र रहेका संरचना तथा सामग्री हटाउन भनिएको छ ।
हुलाकी सडक निर्माणको काम अन्तिम चरणमा पुगेकाले सडक सीमा खाली गराउन पहिलोपटक यस्तो सार्वजनिक सूचना जारी गरिएको कार्यालयका सूचना अधिकारी इन्जिनियर रञ्जितकुमार रायले बताउनुभयो ।
उहाँका अनुसार सडक सीमाभित्र रहेका घर, टहरा, विभिन्न मालवस्तु तथा निर्माण सामग्रीका कारण सडक निर्माण तथा संरक्षण कार्यमा बाधा पुग्नुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ । “निर्माणको अन्तिम चरणका लागि पहिलोपटक सडक सीमा खाली गर्न सार्वजनिक सूचना जारी गरेका हौँ,” उनले भने ।
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सडक सीमाभित्रका संरचना तथा सामग्री हटाउन सम्बन्धित व्यक्ति तथा सरोकारवालालाई आग्रह गरिएको छ । कार्यालयले सम्बन्धित स्थानीय तहलाई समेत सूचना टाँस गर्न पत्राचार गरिसकेको रायले जानकारी दिए ।
तोकिएको समयावधिभित्र संरचना तथा सामग्री नहटाएमा कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाई बल प्रयोग गरेर भए पनि सडक सीमा खाली गराइने उनले बताए ।
सडक सीमा अतिक्रमण गरी संरचना निर्माण तथा विभिन्न सामग्री राखिएका कारण सडक दुर्घटनाको जोखिम बढ्नुका साथै सडक संरक्षण कार्यमा समेत बाधा पुगेको कार्यालयले जनाएको छ ।
गत साता मङ्गलबार (भदौ २३ गते) जारी सूचनामा सडकको आवागमन सहज बनाउन तथा सडक संरक्षण र निर्माण कार्यमा सहयोग पुर्याउन सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई तोकिएको अवधिभित्र सडक सीमा खाली गर्न आग्रह गरिएको छ ।
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सडक सीमा खाली नगरेमा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले चेतावनी दिएको छ ।