महोत्तरीको औरही नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार खड्कामाथि कार्यालय परिसरमै हातपातको प्रयास भएको नगरपालिकाले जनाएको छ ।
बुधबार केही व्यक्तिहरू नगरपालिका कार्यालय परिसरमा प्रवेश गरी हुलहुज्जत गर्दै आफूमाथि हातपातको प्रयास गरेको नगर प्रमुख खड्काले बताएका छन्। उनका अनुसार घटनाका क्रममा जनप्रतिनिधि तथा कर्मचारीमाथि समेत अभद्र व्यवहार र हातपात भएको थियो ।
घटनापछि आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख खड्काले कार्यालय परिसरमा हुलहुज्जत, तोडफोड, हातपात तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने कार्य स्वीकार्य नहुने बताए। उनले घटनामा संलग्न व्यक्तिको निष्पक्ष पहिचान गरी गम्भीर अनुसन्धान गर्न सुरक्षा तथा प्रशासनिक निकायसँग माग गरेका छन् । घटनामा दोषी देखिएका व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने र तोडफोडबाट सार्वजनिक सम्पत्तिमा भएको क्षतिको मूल्यांकन गरी सम्बन्धित पक्षबाट क्षतिपूर्ति भराउनुपर्ने उनको माग छ ।
घटनापछि कर्मचारी तथा जनप्रतिनिधिको सुरक्षा सुनिश्चित नभएसम्म नियमित सेवा सञ्चालन गर्न कठिन हुने भन्दै औरही नगरपालिकाले अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ ।
नगरपालिकाका अनुसार स्वास्थ्य, विपद् तथा अन्य अत्यावश्यक प्रकृतिका सेवा भने आवश्यकता अनुसार सञ्चालनमा रहनेछन्। नियमित प्रशासनिक तथा अन्य गैरअत्यावश्यक सेवा सुरक्षा अवस्थाको पुनरावलोकनपछि मात्रै सञ्चालन गरिने जनाइएको छ।
नगर प्रमुख खड्काले जनप्रतिनिधि र कर्मचारीको सुरक्षाको प्रत्याभूति भएपछि मात्रै कार्यालयबाट निर्भय वातावरणमा सेवा प्रवाह गर्न सकिने बताए। उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग आग्रह गरेका छन्।
घटनाका कारण चाडपर्वको मुखमा नगरपालिका कार्यालयका गैरअत्यावश्यक सेवा बन्द भएपछि सेवाग्राही प्रभावित भएका छन्। घटनाबारे स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट थप आधिकारिक विवरण आउन बाँकी छ।