त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ५२औँ दीक्षान्त समारोहमा सहभागी हुने योग्य विद्यार्थीका लागि अनलाइन आवेदन खुला गरेको छ।
कार्यालयका अनुसार २०८२ असार १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले आवेदन दिन सक्नेछन्। सोही अवधिमा विद्यावारिधि पीएचडी पूरा गरेका विद्यार्थी पनि आवेदनका लागि योग्य हुनेछन् ।
योग्य विद्यार्थीले असोज १ गतेदेखि कात्तिक १२ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
यसपटक विद्यार्थीको सहजताका लागि त्रिविले सातै प्रदेशमा दीक्षान्त समारोह केन्द्र तोकेको छ। बागमती, कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केन्द्र निर्धारण गरिएको हो ।
विद्यार्थीले अनलाइन फाराम भर्दा आफू सहभागी हुने दीक्षान्त केन्द्र छनोट गर्नुपर्नेछ । भने एमफिल, पीएचडी तथा टपर र पदक प्राप्त गर्ने विद्यार्थीका लागि बागमती प्रदेश केन्द्र तोकिएको छ ।
दीक्षान्त समारोहमा सहभागी हुन तहअनुसार शुल्क निर्धारण गरिएको छ । स्नातक तहका लागि ३ हजार रुपैयाँ, स्नातकोत्तर तथा एमफिलका लागि ३ हजार ५ सय रुपैयाँ र विद्यावारिधिका लागि ४ हजार रुपैयाँ दीक्षान्त तथा प्रमाणपत्र शुल्क तोकिएको छ ।
त्यस्तै, गाउन र स्कार्फका लागि सबै तहका विद्यार्थीले २ हजार ५ सय रुपैयाँ धरौटी बुझाउनुपर्नेछ । यसमध्ये ५ सय रुपैयाँ मर्मतसम्भार खर्च कट्टा गरी बाँकी रकम विद्यार्थीको बैंक खातामा फिर्ता गरिनेछ ।
विद्यार्थीले बढीमा दुई जना अभिभावकलाई दीक्षान्त समारोहमा सहभागी गराउन सक्नेछन् । प्रत्येक अभिभावकका लागि ४ सय रुपैयाँ शुल्क लाग्नेछ, जुन फिर्ता नहुने कार्यालयले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयको लोगो अंकित प्रमाणपत्र राख्ने फोल्डर आवश्यक पर्ने विद्यार्थीले थप ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।
सम्पूर्ण शुल्क नेपाल बैंक वा ग्लोबल आईएमई बैंकमार्फत अनलाइन बैंकिङ प्रणालीबाट मात्र दाखिला गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।