१. अस्पतालबाहिर शिशु जन्मिएको घटनामा ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि कारबाही सिफारिस
अस्पताल परिसरबाहिरै शिशु जन्मिएको घटनामा अस्पताल प्रशासन, क्लिनिकल जनशक्ति तथा आमा सुरक्षा कार्यक्रमको नीतिगत पक्षमा कमजोरी देखिएको छानविन समितिले निष्कर्ष निकालेको छ ।
प्रसूति सेवाका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी बबिता पासवानले पैसा नभएका कारण भदौ २५ गते अस्पतालको बाहिरी क्षेत्रमा शिशु जन्माएकी थिइन् ।
अस्पताल पुगिसकेकी गर्भवती महिलालाई उपचारका लागि रोक्न तथा आवश्यक परामर्श दिन नसकेको र अस्पतालबाट बाहिरिने अवस्था सिर्जना भएको विषयमा घटनाका बेला ड्युटीमा रहेका चिकित्सक, नर्स, प्यारामेडिक्सलगायत कर्मचारीको कमजोरी रहेको समितिले निष्कर्ष निकालेको हो ।
छानविन समितिले सम्बन्धित कर्मचारीलाई विभागीय कारबाही गर्नसमेत सिफारिस गरेको जनाएको छ ।
२. थुनुवा र प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य परीक्षण गर्न पर्सा प्रहरी र वीरगञ्ज हेल्थ केयरबीच सम्झौता
जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगंज हेल्थ केयर अस्पतालबीच न्यायिक हिरासतमा रहेका थुनुवा तथा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार प्रत्येक शुक्रबार जिल्ला प्रहरी कार्यालय परिसरमै वीरगंज हेल्थ केयरका स्वास्थ्यकर्मीको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछ ।
थप उपचार आवश्यक परेमा नेपाल सरकारको स्वास्थ्य बीमाको दरअनुसार उपचार गर्ने व्यवस्था सम्झौतामा उल्लेख छ ।
बिहीबार भएको सम्झौतापत्रमा जिल्ला प्रहरी कार्यालय पर्साका तर्फबाट प्रहरी उपरीक्षक पवनकुमार भट्टराई र प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्ल तथा वीरगंज हेल्थ केयरका तर्फबाट अध्यक्ष डा. अबुल हैस अन्सारी र प्रमुख प्रशासकीय अधिकृत भूमिका अधिकारीले हस्ताक्षर गरेका छन् ।
३. हुलाकी सडकको क्षेत्राधिकारभित्रका संरचना हटाउन ३५ दिने सूचना
हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले हुलाकी सडकको क्षेत्राधिकारभित्र निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
सूचनाअनुसार सिरहाको बलान–कमला, धनुषाको जनकपुर–यदुकुहा तथा जनकपुर–कदमचोक–कमला, धनुषा–महोत्तरीको जनकपुर–बसबिट्टी–सरपल्लो, सर्लाहीको शीतलपुर–मलङ्गवा तथा बाँकेको संग्रामपुर सडकखण्डमा रहेका संरचना हटाउन भनिएको छ ।
तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम आवश्यक बल प्रयोग गरी संरचना हटाइने र कानुनी कारबाही अघि बढाइने कार्यालयले चेतावनी दिएको छ ।
४. निजगढ–९ मा अस्थायी बसोबास गर्ने व्यक्ति र घरधनीको विवरण संकलन सुरु
बाराको निजगढ नगरपालिका–९ नम्बर वडा कार्यालयले वडाभित्र अस्थायी रूपमा बसोबास गर्दै आएका व्यक्ति तथा उनीहरूलाई घर, कोठा वा अन्य आवास भाडामा उपलब्ध गराउने घरधनीको विवरण अभिलेखीकरण सुरु गरेको छ ।
अन्यत्रबाट निजगढ–९ मा आएर व्यापार, व्यवसाय, अध्ययन, रोजगारी, सेवा, संघसंस्था, वित्तीय संस्था तथा अन्य प्रयोजनका लागि अस्थायी रूपमा बसोबास गर्दै आएका व्यक्तिको विवरण संकलन गर्न लागिएको हो ।
सामाजिक सुरक्षा तथा नगरपालिकाको आर्थिक योजना निर्माणका लागि समेत उक्त विवरण आवश्यक रहेको वडा अध्यक्ष रामचन्द्र कटुवाल क्षेत्रीले बताएका छन् ।
५. मधेश प्रदेशसभा सदस्य जैनब खातुनको निधन
मधेश प्रदेशसभा सदस्य जैनब खातुनको निधन भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी स्थायी बासिन्दा खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार बुधबार अचानक ब्लड सुगर अत्यधिक बढेपछि उनलाई उपचारका लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो ।
खातुन नेकपा (एमाले) को समानुपातिकतर्फबाट मधेश प्रदेशसभा सदस्य बनेकी थिइन् ।
६. वीरगञ्जमा हतियार र गोलीसहित भारतीय नम्बर प्लेटको बेवारिसे कार बरामद
सशस्त्र प्रहरीले वीरगञ्जमा कटुवा पेस्तोल, सिक्सर पेस्तोल र गोलीसहित भारतीय नम्बर प्लेटको बेवारिसे कार बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको मोबाइल टोलीले बुधबार राति वीरगञ्ज महानगरपालिका–१५ स्थित वास्तुबिहार चोकबाट हतियारसहितको कार बरामद गरेको हो ।
रोकिराखेको अवस्थामा रहेको यूपी १६ एजे ३३०१ नम्बरको कार जाँच गर्ने क्रममा हतियार तथा गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
कारभित्र बोरामा लुकाएर राखिएको अवस्थामा २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल र ७.६२ एमएमका ६ थान गोली फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
७. बारामा सर्पदंशबाट ४२ वर्षीया महिलाको मृत्यु
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहामा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया मञ्जु बञ्जारा रहेकी छन् ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ बजे घरअगाडि काम गरिरहेको अवस्थामा उनलाई सर्पले डसेको थियो ।
सर्पदंशपछि बञ्जारालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
८. धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ
धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रहरी चौकी धनौजीबाट प्रहरी सहायक निरीक्षक राजकुमार मिश्रको कमान्डमा खटिएको गस्ती टोलीले भारतबाट गौरदाहातर्फ आउँदै गरेको बीआर ३२ बीबी १८९९ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्ला, ग्राम खैनाका ३५ वर्षीय राधाकान्त बयाग्रे रहेका छन् ।
प्रहरीका अनुसार उनको साथबाट कपडाको पेटीभित्र लुकाई कम्मरमा बाँधेर राखिएको अवस्थामा नेपाली नगद १३ लाख ६५ हजार रुपैयाँ फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले रकमको स्रोत, कहाँबाट प्राप्त भएको हो, कहाँ लैजान लागिएको थियो तथा अन्य व्यक्ति वा कारोबारसँग सम्बन्ध भए–नभएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
प्रहरीका अनुसार बयाग्रेविरुद्ध वित्तीय कारोबारसम्बन्धी कसुरमा मुलुकी अपराध संहिता, २०७४ तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत अनुसन्धान भइरहेको छ ।
९. विद्युत् सर्ट भएर आगलागी, ५ देखि ७ लाख रुपैयाँको क्षति
बाराको कलैया उपमहानगरपालिका–११ मा विद्युत् सर्ट भएर आगलागी हुँदा करिब ५ देखि ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय हनुमानप्रसाद साहको घरमा बुधबार राति करिब १ बजे विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आगलागीमा एउटा बाछो, एउटा भैँसीको पाडो र दुईवटा बाख्रा जलेका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा आगलागीबाट करिब ५ देखि ७ लाख रुपैयाँ बराबरको क्षति भएको खुलेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
१०. पर्यटकको सहजताका लागि पर्सा प्रहरीले क्यूआर कोडसहित पर्यटन साइट सञ्चालनमा ल्यायो
पर्यटन प्रवर्द्धनसँगै पर्यटकको सुरक्षा तथा सहजीकरणलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले क्यूआर कोडसहितको पर्यटनसम्बन्धी अनलाइन साइट सञ्चालनमा ल्याएको छ ।
पर्सा जिल्लाका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा पर्यटकीय स्थलसम्बन्धी आवश्यक जानकारीलाई एउटै डिजिटल प्लेटफर्ममा समेटेर साइट तयार गरिएको प्रहरीले जनाएको छ ।
साइटमार्फत पर्यटकले सम्बन्धित गन्तव्यसम्म पुग्न लाग्ने अनुमानित समय, वीरगंजबाटको दूरी, सडक तथा यातायातको अवस्थालगायतका जानकारी प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, खाना तथा नास्ताका लागि उपलब्ध होटल तथा रेस्टुरेन्ट र बसोबासका लागि होटल तथा रिसोर्टको विवरणसमेत साइटमा समावेश गरिएको छ।
पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित पर्यटकीय स्थलनजिक रहेको प्रहरी कार्यालय, सम्पर्क नम्बर तथा अस्पतालको विवरणसमेत राखिएको प्रहरीले जनाएको छ।
पर्यटकलाई गन्तव्यसम्म पुग्न सहज होस् भनेर सम्बन्धित स्थानको गुगल नक्साको लिंक समेत उपलब्ध गराइएको छ। क्यूआर कोड स्क्यान गरेपछि मोबाइलबाटै यी जानकारी सहज रूपमा हेर्न सकिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गन्तव्य छनोटदेखि यात्रा, सुरक्षा, आवास तथा आकस्मिक अवस्थामा आवश्यक सेवा प्राप्त गर्न सहज बनाउने उद्देश्यले डिजिटल साइट विकास गरिएको प्रहरीको भनाइ छ।
प्रहरीले यस पहलबाट पर्साका पर्यटकीय तथा ऐतिहासिक स्थलको प्रचारप्रसारसँगै पर्यटकलाई सुरक्षित र व्यवस्थित रूपमा भ्रमण गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।