जनकपुरधाम । धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार प्रहरी चौकी धनौजीबाट प्रहरी सहायक निरीक्षक राजकुमार मिश्रको कमान्डमा खटिएको गस्ती टोलीले भारततर्फबाट गौरदाहातर्फ आउँदै गरेको बीआर ३२ बीबी १८९९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्ला, ग्राम खैनाका ३५ वर्षीय राधाकान्त बयाग्रे रहेका छन् ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा बयाग्रेले कपडाको पेटीभित्र रकम लुकाएर कम्मरमा बाँधेको अवस्थामा नेपाली नगद १३ लाख ६५ हजार रुपैयाँ फेला परेको हो ।
सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा नगद बोकेर आवतजावत गरिरहेको र गतिविधि शंकास्पद देखिएपछि मोटरसाइकल रोकेर खानतलासी गर्दा रकम बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद रकमको स्रोत, कहाँबाट प्राप्त भएको हो, कहाँ लैजान लागिएको थियो तथा रकमसँग अन्य व्यक्ति वा कारोबारको सम्बन्ध भए–नभएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रहरीका अनुसार बयाग्रेविरुद्ध वित्तीय कारोबारसम्बन्धी कसुरमा मुलुकी अपराध संहिता, २०७४ तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत अनुसन्धान भइरहेको छ ।