भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएका १० वटा भारतीय इलेक्ट्रिक स्कुटर प्रहरीले वीरगन्जका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बुधबार दिउँसो करिब ४ बजे वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा अनधिकृत रूपमा सञ्चालन भइरहेको अवस्थामा ती स्कुटर फेला परेका थिए ।
प्रहरीले नियन्त्रणमा लिएका स्कुटरको कुल अनुमानित मूल्य करिब ८ लाख रुपैयाँ रहेको जनाएको छ ।
भन्सार छली गरी चोरी पैठारीमार्फत नेपाल भित्र्याइएको आशंकामा नियन्त्रणमा लिइएका स्कुटरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।
प्रहरीले सीमावर्ती क्षेत्रबाट भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइने सवारीसाधन तथा अन्य सामानको निगरानीलाई निरन्तरता दिएको जनाएको छ ।