बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेपछि स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको छ ।
प्रहरीले बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा सोही ठाउँका करिब ६५ वर्षीय असम्जान मियाँलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आरोपितलाई प्रहरीको नियन्त्रणमा लिएपछि आक्रोशित स्थानीय राति प्रहरी चौकीमा भेला भएका थिए। उनीहरूले घटनामा संलग्न भनिएका व्यक्तिमाथि कडा कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।
राति करिब ९ः२० बजेदेखि स्थानीयको भीड बढेपछि प्रहरी चौकी आसपासको अवस्था तनावपूर्ण बनेको थियो। प्रदर्शनकारीले घटनामा तत्काल कानुनी प्रक्रिया अघि बढाउन माग गरेका थिए ।
केही स्थानीयले आरोपितलाई आफ्नो जिम्मा लगाउनुपर्ने माग गरे पनि प्रहरीले उनलाई नियन्त्रणमै राखेको छ। प्रहरीले घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी आरोपितमाथि आवश्यक कारबाही अघि बढाउने जनाएको छ ।
घटनापछि इनर्वाशिरा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। बालिकाको संरक्षण, घटनासँग सम्बन्धित प्रमाण संकलन तथा अनुसन्धानलाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।