धमाधम विस्तार भइरहेको पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा ‘फ्लाइओभर’ निर्माणका लागि स्थानीयले दबाब बढाउँदै लगेका छन् । सडक आयोजनाले ललितपुरको ग्वार्कोमा झैँ पर्खाल उठाएर “ओभरपास” निर्माणको काम अघि बढाएपछि स्थानीय असन्तुष्ट छन् । पिल्लरसहितको ‘फ्लाइओभर’ निर्माण हुनुपर्ने स्थानीयको माग छ ।
अग्लो पारेर “ओभरपास” बनाइँदा बजार क्षेत्र कुरूप देखिने र नागरिकलाई आउजाउ गर्न झन्झट हुने सडक विस्तार सङ्घर्ष समितिले बताएको छ । उक्त समितिका अध्यक्ष शालिग्राम लम्सालले सडकको दायाँबायाँ दुवैतर्फ छर्लङ्ङ देखिने गरी पिल्लरसहितको ‘फ्लाइओभर’ निर्माण हुनुपर्ने माग रहेको जानकारी दिए ।
सङ्घर्ष समितिले “फ्लाइओभर” निर्माणमा दबाब दिने उद्देश्यसहित मङ्गलबार कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) का आयोजना प्रमुख राजेशकुमार दासलाई लालबन्दीमै बोलाएर अन्य सरोकारवालासमेत राखी छलफल गराएको छ । सोही छलफलको निर्णयबमोजिम लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले पर्खालसहितको ‘ओभरपास’ को साटो लागत योजना परिमार्जन गरी “फ्लाइओभर” निर्माणका लागि पहल गरिदिन माग गर्दै बुधबार सडक आयोजना प्रमुखलाई पत्र पठाउन भनेका छन् । उक्त पत्रमा सकेसम्म “फ्लाइओभर” निर्माण गरिदिन र सो सम्भव नभए ट्राफिक बत्तीसहित यात्रुलाई आवतजावत गर्ने सडक र आकासे पुल निर्माण गरिदिन माग गरिएको छ । सडक आयोजनाका प्रमुखसहितको छलफलमा पनि ट्राफिक बत्ती र आकासे पुलको माग जोडदार रूपमा उठाइएको नेपाली कांग्रेसका नेता सीताराम दाहालले बताए ।
“फ्लाइओभर” निर्माण हुनुपर्ने विषयमा सडक विस्तार सङ्घर्ष समितिले यसअघि सर्लाही–१ का प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्यसहित अन्य सरोकारवालासँग छलफल गरेको थियो । सडक आयोजनाकै कार्यालय महोत्तरीको बर्दीबास गौरीडाँडामा पुगेर ध्यानाकर्षणपत्र बुझाउने कामसमेत गरिसकिएको दाहालले भने ।
महेन्द्र राजमार्गलाई बजार क्षेत्रमा छ लेन र अन्यत्र चार लेनमा विस्तार गरिँदा लालबन्दीसहित सर्लाहीको नवलपुर, हरिवन र नयाँरोड गरी चार स्थानमा पर्खाल उठाएर ओभर पास निर्माण गरिने लागत योजनामा उल्लेख छ । कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) का आयोजना प्रमुख राजेशकुमार दासले ‘ओभरपास’ हटाएर ‘फ्लाइओभर’ निर्माण गर्न सम्भव नरहेको बताए ।
“फ्लाइओभर” बनाउन चाररपाँच गुणा बढी पैसा लाग्ने आयोजना प्रमुख दासको भनाइ छ । उनले भने “लालबन्दीका स्थानीयले भने अनुसार “फ्लाइओभर” नै त बनाउन सम्भव हुँदैन तर ट्राफिक बत्ती र आकासे पुलका लागि भने हामी माथिल्लो निकायमा पहल गर्छौं ।” नेपाल सरकारको बजेटबाट नभई विश्व बैङ्कको सहयोगमा काम भइरहेकाले लागत योजना परिवर्तन गर्न कठिन रहेको र पूर्वपश्चिम सबैतिर एकैनासको काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए । कमला नदीदेखि पूर्वतर्फ “ओभरपास” नै बनाइएकाले कतै “ओभरपास” र कतै “फ्लाइओभर” बनाउन सकिने सम्भावना कम रहेको सडक आयोजना प्रमुख दासले बताए । लामो दुरीका गाडीमाथि “फ्लाइओभर” बाट र स्थानीय रुटका गाडी तल सडकबाट आउजाउ गर्ने हिसाबले लालबन्दीसहित सर्लाहीका चार ठाउँमा करिब छ सय मिटर लम्बाइको “ओभरपास” बनाइने कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) ले जनाएको छ ।