सप्तरी जिल्ला अदालत परिसरमा प्रौढ उमेरका व्यक्तिलाई एक युवकले भुईँमा घिसारिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरैले घिसारिनेप्रति सहानुभूति देखाउँदै घिसार्ने युवकलाई नकारात्मक टिप्पणी गरिरहेका छन् । तर यो घटनाको पृष्ठभूमि भने मानिसहरूले सोचेजस्तो छैन ।
भिडियो हेर्दा अदालतमा काम लिएर आएका व्यक्तिमाथि प्रहरीकै अगाडि गुण्डागर्दी गरेको देखिन्छ । ती व्यक्तिलाई अदालतको गेट हुँदै घिसारेर बाहिर लगेपछि मात्रै प्रहरीले हस्तक्षेप गरेका थिए । घटनाबारे बुझ्दै जाँदा भिडियोमा घिसारिँदै गरेका रामपुकार यादव सामान्य व्यक्ति नभई गम्भीर प्रकृतिको ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका प्रतिवादी भएको खुलेको छ ।
अदालत परिसरमै रामपुकारलाई घिसार्दै लैजाने व्यक्ति भने सोही मुद्दाका जाहेरवालाका भतिजा मुकेशकुमार यादव हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काका अनुसार सप्तरीको बोदेबरसाइन नगरपालिका(९ महनौरी टोल बस्ने मिश्रीलाल यादवका छोरा ४३ वर्षीय रामपुकार यादव ज्यान मार्ने उद्योग मुद्दामा वारदातपछि फरार रहेका थिए ।
रामपुकार २०८३ भदौ ३१ गते बिहान करिब ११ बजे काम विशेषले सप्तरी जिल्ला अदालत पुग्छन् । अदालतभित्रै मुद्दाका जाहेरवाला अजयकुमार यादवका भतिजा मुकेशकुमार यादवसँग उनको जम्काभेट हुन्छ । फरार रहेका रामपुकारलाई देखेपछि मुकेशले उनलाई समात्न खोज्दा दुवैबीच धक्कामुक्का भएको एसपी खड्काले बताए । सोही क्रममा मुकेशले रामपुकारलाई अदालत परिसरमै घिसार्दै बाहिर लगेको भिडियो खिचिएको थियो ।
अदालत परिसरमा भएको घटनापछि प्रहरीले रामपुकार यादव र मुकेशकुमार यादव दुवैलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।