भारतको बिहार राज्यको मुजफ्फरपुरमा अलपत्र अवस्थामा रहेकी एक जना नेपाली युवतीलाई सकुशल उद्धार गरि वीरगन्ज ल्याएर अभिभावको जिम्मा लगाएर घर पठाइएको छ ।
धादिङको थानबेसी गाउँपालिकाकी ३६ वर्षीया सानुमाया तमांग विगत ११ महिनादेखि सम्पर्कविहिन भएकी थिइन् । उनलाई अघिल्लो हप्ता मुजफ्फरपुर शहरमा त्यहाँको प्रहरीले अलपत्र अवस्थामा फेला पारेको थियो । त्यसपछि भारतीय प्रहरीले उनलाई मुजफ्फरपुरकै शान्ति कुटीर आश्रममा लगेर राखेको थियो ।
गत शनिबार जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा मानवसेवा आश्रम वीरगन्जको टोलीले तमांगलाई भारतबाट उद्धार गरि गत शनिबार वीरगन्ज ल्याएको थियो ।
शुक्रबार ती युवतीलाई उनको बुवा गुणासिंह तामांगको जिम्मा लगाएर घर पठाइएको मानव सेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ताले जानकारी दिए ।
ती युवतीको उद्धारपश्चात उनको परिवारसँग सम्पर्क भएपछि शुक्रबार पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई र प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लको रोहबरमा बुवा गुणासिंहको जिम्मा लगाएर पठाइएको गुप्ताले बताए ।