प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुन प्रसाद सिंहले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटना रोक्न स्वास्थ्य मन्त्रालयसँगै शिक्षा र अर्थ मन्त्रालय पनि गम्भीर हुनुपर्ने बताएका छन् ।
बिहीबार प्रादेशिक अस्पताल जनकपुरमा प्रसूति सेवाका लागि आएकी महिलाका आफन्तले काउन्सिलिङ गरिरहेका चिकित्सक डा. सरोज साहमाथि हातपात गर्नुका साथै उनको मोबाइलसमेत खोसेर लगेपछि अस्पतालमा चिकित्सकको सुरक्षाको विषय पुनः उठेको हो । घटनामा डा. साहको अनुहार, टाउको र हातमा चोट लागेको बताइएको छ । घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखेको छ। घटनापछि अस्पतालका चिकित्सकहरूले काम गर्ने वातावरण नरहेको भन्दै सामूहिक उजुरी दिने र काम ठप्प पार्ने चेतावनी दिएका छन् ।
निर्देशक डा. सिंहले सरकारी अस्पतालमा बिरामीको चाप अत्यधिक भए पनि सरकारको मापदण्डअनुसार आवश्यक जनशक्ति उपलब्ध हुन नसकेको बताए । उनका अनुसार सरकारले प्रसूति सेवाका लागि आवश्यक जनशक्तिको मापदण्ड बनाए पनि त्यसअनुसार दरबन्दी र जनशक्ति उपलब्ध गराउन सकेको छैन ।
‘सरकारले प्रसूतिगृहमा १२० जना नर्स राख्ने मापदण्ड बनाउँछ, तर अस्पतालभरि पनि १२० जना नर्सको दरबन्दी दिइँदैन भने यस्तो नीति किन बनाउनु?’ उनले प्रश्न गरे । अस्पतालमा चिकित्सक, नर्स, सुरक्षाकर्मी तथा अन्य कर्मचारीको अभावबारे पटक–पटक जानकारी गराउँदा पनि थप जनशक्ति व्यवस्थापनका लागि आवश्यक बजेट र पदपूर्तिको प्रक्रिया अघि बढ्न नसकेको उनले बताए। डा. सिंहले यही कारणले अर्थ मन्त्रालय पनि स्वास्थ्य संस्थामा देखिएको समस्याको एउटा जिम्मेवार पक्ष भएको बताए ।
चिकित्सकमाथि हुने आक्रमणको दीर्घकालीन समाधानका लागि शिक्षा प्रणालीमा समेत ध्यान दिनुपर्ने उनको भनाइ छ । नागरिकमा स्वास्थ्य सेवाको प्रकृति, उपचारका जोखिम तथा चिकित्सकीय प्रक्रियाबारे बुझाइ बढाउनुपर्ने उनले बताए । प्रत्येक बिरामी वा सेवाग्राहीको सोच उग्र हुनु, प्रत्येक कर्मचारीलाई आफ्नो शत्रु सम्झिनु, आक्रोशमा आउनु र कानुनी उपचार खोज्नुको साटो हातपात गर्नुजस्ता क्रियाकलापले समस्या देखाउँछ,’ उनले भने ।
डा. सिंहले सरकारी अस्पतालमा एउटै बिरामीसँग धेरै जना कुरुवा आउने प्रवृत्तिले पनि उपचार सेवामा समस्या थपिएको बताए । उनका अनुसार निजी अस्पतालमा बिरामीसँग रहने कुरुवाको संख्या सीमित हुने गरे पनि सरकारी अस्पतालमा एउटै बिरामीसँग आठ जनासम्म कुरुवा आउने र उपचार कक्षमै बस्ने गरेको पाइन्छ ।
‘एक पटक परामर्श गर्नुपर्ने ठाउँमा आठ जना कुरुवाले छुट्टाछुट्टै प्रश्न गर्दा चिकित्सकको समय पनि खेर जान्छ,’ उनले भने । यस्तो अवस्थालाई व्यवस्थापन गर्न अस्पताल प्रशासनसँगै बिरामी र उनका आफन्त पनि जिम्मेवार हुनुपर्ने उनले बताए । चिकित्सकको सुरक्षाका लागि प्रत्येक बेड वा विभागमा सुरक्षाकर्मी राख्नु मात्रै समाधान नभएको डा. सिंहले बताए ।
‘प्रत्येक बेड वा डिपार्टमेन्टमा सुरक्षाकर्मी राख्नु समाधान होइन। जतिबेलासम्म सुरक्षाकर्मी पुग्छन्, त्यतिबेलासम्म चिकित्सकले पिटाइ खाइसकेको हुन्छ,’ उनले भने । बिरामी तथा उनका आफन्तले उपचारका क्रममा हुने जटिलता र मृत्यु सधैं चिकित्सकको नियन्त्रणमा नहुने कुरा बुझ्नुपर्ने उनले बताए । कुनै पनि चिकित्सकले आफ्नो बिरामीको मृत्यु होस् भनेर नचाहने भन्दै उनले उपचारका क्रममा समस्या आए कानुनी तथा संस्थागत बाटोबाट समाधान खोज्न आग्रह गरे ।
चिकित्सकमाथि हुने आक्रमणका घटना पटक–पटक दोहोरिन थालेकाले यसको दीर्घकालीन समाधानका लागि बृहत् छलफल आवश्यक रहेको डा. सिंहले बताए । नागरिक समाज, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा नेपाल सरकारका सम्बन्धित निकायबीच बृहत् छलफल गरेर स्वास्थ्य संस्थामा हुने हिंसा, जनशक्ति अभाव, बिरामीको चाप र सुरक्षा व्यवस्थापनलगायत समस्याको दीर्घकालीन समाधान खोजिनुपर्ने उनको भनाइ छ।
‘स्वास्थ्य मन्त्रालयमात्र होइन, शिक्षा र अर्थ मन्त्रालय पनि यस विषयमा गम्भीर हुनुपर्छ। सबै पक्ष बसेर समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ,’ उनले भने ।
भिडियाे रिपाेर्ट