टप १० मधेश
१० — मुजफ्फरपुरबाट उद्धार गरिएकी नेपाली युवतीको परिवारसँग पुनर्मिलन
भारतको मुजफ्फरपुरमा अलपत्र अवस्थामा रहेकी एक नेपाली युवतीलाई उद्धार गरी वीरगंज ल्याएपछि शनिबार परिवारसँग पुनर्मिलन गराइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उद्धारपछि गरिएको निरन्तर प्रयासबाट युवतीका बाबुसँग सम्पर्क भएपछि शनिबार आयोजित कार्यक्रममा बाबुछोरीको पुनर्मिलन गराइएको हो ।
भारतको मुजफ्फरपुरमा अलपत्र युवतीलाई जिल्ला प्रहरी कार्यालय पर्सा, भारतीय प्रहरी र मानवसेवा आश्रम वीरगञ्जको सहकार्यमा उद्धार गरी करिब एक साताअघि वीरगञ्ज ल्याइएको थियो । पुनर्मिलनपछि बाबुले छोरीको जिम्मा लिएको मानवसेवा आश्रमले जनाएको छ ।
२० — मधेश प्रदेशसँग सम्बन्धित अख्तियारका उजुरी सबैभन्दा धेरै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका उजुरीमध्ये मधेश प्रदेशसँग सम्बन्धित उजुरीको संख्या सबैभन्दा धेरै रहेको छ ।
आयोगका अनुसार प्रदेश सरकारसँग सम्बन्धित देशभर दर्ता भएका कुल ५ हजार ३०५ उजुरीमध्ये मधेश प्रदेशसँग सम्बन्धित १ हजार ४७५ वटा अर्थात् २७.८ प्रतिशत उजुरी रहेका छन्।
त्यसैगरी, स्थानीय तहसँग सम्बन्धित उजुरीमा पनि मधेश प्रदेश पहिलो स्थानमा रहेको आयोगले जनाएको छ । देशभरका स्थानीय तहसँग सम्बन्धित कुल २० हजार २५ उजुरीमध्ये मधेश प्रदेशका स्थानीय तहविरुद्ध मात्रै ७ हजार ३७० वटा अर्थात् ३६.८० प्रतिशत उजुरी परेको आयोगले जनाएको छ ।
३० — वीरगञ्ज–२५ का रास्वपा वडा सभापति अभद्र व्यवहार मुद्दामा पक्राउ
वीरगंज महानगरपालिका–२५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा सभापति प्रकाश साह अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका छन्।
मनिष गुप्तासहितको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले साहलाई बिहीबार पक्राउ गरेको हो ।
जाहेरीकर्ता गुप्ताका अनुसार साहले आफू वीरगंजको स्थानीय बासिन्दा भएको दाबी गर्दै वीरगंज भन्सारबाट आफूले मात्रै माछाको कारोबार गर्न पाउनुपर्ने र अन्य व्यक्तिलाई कारोबार गर्न नदिने अडान लिएका थिए ।
साहले आफ्नो स्थानीय प्रभाव देखाउँदै अन्य व्यापारीलाई धाकधम्की तथा गालीगलौज गर्न थालेको आरोपसहित उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
४० — बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा ६० वर्षीय व्यक्ति पक्राउ
बारामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।
जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिराकी बालिकामाथि बलात्कार गरेको आरोपमा स्थानीय ६० वर्षीय हसनजान मियाँलाई बिहीबार राति करिब साढे ९ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सिमराको टोलीले मियाँलाई नियन्त्रणमा लिन खोज्दा केही स्थानीयले कानुनी कारबाही पर्याप्त नहुने भन्दै उनलाई आफैं नियन्त्रणमा लिन खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो।
पछि कलैयाबाट थप प्रहरी टोली पुगेपछि बल प्रयोग गरी आरोपितलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
५० — वीरगंजमा भन्सार छलीका १० भारतीय इलेक्ट्रिक स्कुटर बरामद
वीरगंजमा भन्सार छली गरी चोरी पैठारीमार्फत नेपाल भित्र्याइएका १० वटा भारतीय इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली गरी अनधिकृत रूपमा सञ्चालनमा रहेका करिब ८ लाख रुपैयाँ बराबरका १० वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका स्कुटरहरू बिहीबार वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
६० — राजविराजमा सुनको सिक्री चोरीको आरोपमा बाराका युवक पक्राउ
सप्तरीको राजविराजमा रथयात्राका क्रममा भक्तजनको सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले बाराका एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारागढी गाउँपालिका–३ सिपुरा टोलका २५ वर्षीय निरजकुमार राय रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार भदौ २० गते कृष्ण जन्माष्टमीका अवसरमा राजविराज नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा निकालिएको थियो । नगर परिक्रमा गरिएको उक्त रथयात्रामा सहभागी राजविराज नगरपालिका–१ का रोकी झाले लगाएको २६.२४ ग्राम तौलको सुनको सिक्री चोरी भएको थियो ।
सिक्री चोरीपछि फरार रहेका रायको खोजी गर्ने क्रममा उनलाई बारागढीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
७० — वीरगंज भन्सारले भदौमा संकलन गर्यो २३ अर्ब ४६ करोडभन्दा बढी राजस्व
वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौ महिनामा २३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ ।
भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ ३१ गतेसम्म एक महिनाको अवधिमा २३ अर्ब ४६ करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।
वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार भदौ मसान्तसम्मको संकलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको छ ।
मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेका छन् ।
८० — परीक्षा केन्द्र अन्यत्र सारेको विरोधमा राजविराज क्याम्पसमा तालाबन्दी
राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा शुक्रबार बिहान तालाबन्दी गरिएको छ ।
परीक्षा केन्द्र अन्यत्र सारिएको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पसमा तालाबन्दी गरेको हो ।
क्याम्पसका स्ववियु सभापति रञ्जितकुमार यादवद्वारा जारी प्रेस विज्ञप्तिमा परीक्षा केन्द्र अन्यत्र सारिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
स्ववियुले परीक्षा केन्द्र सार्ने निर्णय तत्काल पुनरावलोकन गर्नुपर्ने, विद्यार्थीलाई सहज, सुरक्षित र पहुँचयोग्य स्थानमा परीक्षा सञ्चालन गर्नुपर्ने तथा परीक्षासम्बन्धी सम्पूर्ण सूचना समयमै सार्वजनिक गर्नुपर्ने लगायतका माग अघि सारेको छ ।
९० — जनकपुरधाममा ड्युटीमा रहेका चिकित्सकमाथि कुटपिट, कारबाहीको माग
जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्युटीमा रहेका चिकित्सकमाथि कुटपिट भएको छ ।
प्रतिष्ठानका चिकित्सक डा. सरोज साहमाथि बिहीबार दिउँसो आक्रमण भएको हो । घटनाप्रति नेपाल चिकित्सक संघले शुक्रबार विज्ञप्ति जारी गर्दै दोषीमाथि तत्काल कारबाही गर्न माग गरेको छ ।
अस्पतालका अनुसार प्रसूति सेवा लिन आएकी एक महिलाको अवस्था जटिल देखिएपछि शल्यक्रिया गर्नुपर्ने भन्दै चिकित्सकले सहमतिको कागजमा हस्ताक्षर गर्न आग्रह गरेका थिए। सोही विषयमा बिरामीका आफन्तसँग विवाद भएपछि डा. साहमाथि कुटपिट भएको जनाइएको छ ।
कुटपिटमा संलग्न समूह बिरामी महिलालाई लिएर फरार भएको अस्पतालका सूचना अधिकारी डा. रामज्ञान यादवले बताएका छन् ।
१० — जानकी मन्दिर क्षेत्र संरक्षित स्मारक क्षेत्र घोषणा
संघीय सरकारले मधेशको राजधानी जनकपुरधामस्थित रामजानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को बैठकले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार रामजानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको हो ।
मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका अनुसार रामजानकी मन्दिर क्षेत्रको चार किल्ला तोकेर संरक्षित स्मारक क्षेत्र घोषणा गरिएको हो ।
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको लक्ष्यअनुसार संरक्षित स्मारक क्षेत्र घोषणा गरिएको मन्त्रालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषय समेटेको छ ।